प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो । सोही सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो ।
भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ । जनवरी १०–१२ सम्म गुजरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो दिएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ ।
भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ । भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए ।