नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफुहरुलाई पार्टी सभापति शेर बहादुर देउबाले पेलेर जान खोजेको निष्कर्ष निकाल्दै पार्टीमा आफ्नो भाग खोज्ने निर्णयमा पुगेको छ।
बुधबार सिंहदरबार नजिकैको बसेरा होटलमा भएको छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित शेखर पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्य र प्रत्यासीहरु सहभागी बैठकले त्यस्तो निर्णय गएको हो। महाधिवेशनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न आयोजित त्यस बैठकमा सहभागी नेताहरुले महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय समिति बैठकबाट विधानको उल्लंघन सुरु भएको बताएका थिए। उनीहरुले सभापति देउबाबाट बिधि र बिधान उल्लङ्घन गर्ने कार्य भएको उल्लेख गर्दै शेखर कोइरालाको वरियता, केन्द्रीय सदस्यको मनोनयन, राष्ट्रियसभा उम्मेदवार छनोटमा शेखर कोइराला पक्षलाइ बेवास्ता गरिएको गुनासो गरेका थिए।
कर्णाली प्रदेशका सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाहीले शेखर कोइरालाको वरियता र केन्द्रीय कमिटीको बसाइले १८ सय महाधिवेशन प्रतिनिधिको मन कुँडिएको बताए । पार्टीभित्र न्यायको संघर्ष शेखर कोइरालाबाटै सुरु हुनुपर्ने उनको भनाइ थियो ।
प्रदेशका सभापतिका प्रत्यासी गुरुराज घिमिरेले आजबाटै विधान विपरीतका निर्णयको प्रतिवादमा उत्रिनुपर्ने बताए । उनले सभापतिसँग उपसभापति, महामन्त्रीलाई पनि विधान उल्लंघन गर्ने छुट नभएको बताए ।
भेलामा सहभागी अधिकांश नेताहरुले भागबण्डा माग्दैनौँ भन्ने कुराको विरोध गरेका थिए । ‘सभापतिले क्षमता र योग्यता भन्दा पनि आफूलाई मत दिनेलाई मात्रै अवसर दिने संकेत गरिसक्नुभयो । उहाँको स्वभाव पनि त्यस्तै छ । त्यसैले भाग माग्दैनौं भन्ने कुरा नगर्नुस् । तपाईंहरुले हाम्रा लागि नबोलि दिए हामीले कसरी अवसर पाउछौं,’ सहभागीको भनाइ थियो । उनीहरुसँगको छलफलपछि नेताहरु पनि देउवासँग भागबण्डासहित संघर्ष अगाडि बढाउने निष्कर्षमा पुगेका छन् ।
बैठकमा सभापतिका प्रत्यासी शेखर कोइरालाले चार बुँदे लिखित मन्तव्य राखेर कार्यक्रम सुरु गरेका थिए । सभापति देउवाले विधि विधानभन्दा बाहिर गएर गर्ने काम बन्द गर्न सबै एकढिक्का हुनुपर्ने कोइरालाको भनाइ छ ।
सक्षम नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने उनले बताए ।
आफ्नो खबदारीलाई बेवास्ता गरिए पार्टी दुर्घटनामा पर्न सक्ने कोइरालाको चेतावनी छ । सभापति देउवाले पेलेर जाने नीति लिएपछि कोइराला ‘विद्रोह’को चेतावनीसहित अगाडि आएका छन् । कोइरालाको भावनासँग नेता कार्यकर्ताको पनि भाव मिलेको छ । कोइरालाको सम्बोधनपछि महाधिवेशनमा शेखर टिमबाट उम्मेदवार बनेका एकसय ३४ जनाबीच परिचयात्मक कार्यक्रम भएको थियो ।