सत्तारुढ दल नेपाली कांग्रेसका अधिकांश नेताहरुले राष्ट्रघाती भनिएको एमसीसी सम्झौता बिना सम्झौता यथास्थितिमा नै संसदबाट पारित गर्ने पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिने गरेका छन्। तर नेपाली कांग्रेसको हालै सम्पन्न भएको १४ औं महाधिबेशनबाट महामन्त्रीमा बिजयी विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन् ।
बुधबार गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन् । “कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन”, उनले एमसिसी संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद भइरहेको सन्दर्भमा भने, “कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन । एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिनेछ ।”
देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पु¥याउने गरेकोसमेत चर्चा गरे । विगतमा अरुण तेस्रो जलविद्युत् परियोजनामा विदेशी लगानी अस्वीकार गरिँदा मुलुक विद्युत्भार कटौतीको चपेटाबाट गुज्रिएको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, “राष्ट्रवादको मनोविज्ञानले समाजको प्रगतिमा अवरोध सिर्जना गर्दो रहेछ । विसं २०५१ मा अरुण तेस्रो बनाउन दिएको भए २०६१ मा विद्युत्भार कटौती मुर्दावादको नारा लगाउनैपर्ने थिएन ।” पार्टीभित्रका विभिन्न पदमा मनोनीत गर्ने र विभाग गठनका विषयमा कुनै ढिलासुस्ती नहुने महामन्त्री शर्माले बताए ।