अन्तत: पोखरास्थित मणिपाल मेडिकल कलेज चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी कुनै पनि शीर्षकमा शुल्क नलिन तयार भएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा आज आयोजना गरिएको सम्बन्धित सरोकारवाला र सर्वपक्षीय बैठकमा मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोके बमोजिमको शुल्क लिन सहमति जनाएको हो।
त्यस अस्पतालले यसभन्दा अघि विद्यार्थीहरुबाट बिभिन्न बहानामा अबैध तरीकाले उठाएको रकम आगामी वर्षको शुल्कबाट घटाउन लिखित सहमति जनाएको छ।
मणिपाल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी, जिल्ला प्रशासन कार्यालय र स्थानीय समुदायको रोहबरमा यस्तो सहमति भएको हो। मणिपाल कलेज प्रशासनले अबैध रुपमा उठाएको रकम फिर्ता गर्ने सहमति भएसंगे अनेरास्ववियुले अस्पताल प्रशासनमा लागेको ताला खोलिदिएको छ।
सहमतिपत्रमा मणिपाल कलेजका निर्देशक गौरव यादव, कलेका प्रशासन प्रमुख भानु भारद्वाज र आन्दोलनरत विद्यार्थीका तर्फबाट नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसन गन्डकी च्याप्टरका उपाध्यक्ष अनिल सन्हालगायतको उपस्थिति छ।
सहमतिको रोहबरमा कास्कीका सहायक प्रजिअ कृष्णचन्द्र पौडेल, पोखरा-१६ का वडा सदस्य राजेश गुरुङलगायतको हस्ताक्षर छ।
यसभन्दा अघि आयोगले तोकेभन्दा बढी शुल्क लिएपछि नेकपा एमालेको भात्री संगठन अनेरास्ववियु लगायतका बिद्यार्थी संगठनले मणिपाल अस्पताल प्रशासनमा तालाबन्दी गरेर आन्दोलन गरिरहेका थिए।
