ज्याला नपाएपछि मजदुरहरुले कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
प्राप्त जानकारी अनुसार, आर्थिक वर्ष २०७७/७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडक निर्माणका लागि सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयले एकसय ३२ जना मजदुरहरु नियुक्त गरेको थियो। गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् ।
निर्माण मजदुर गोकर्णप्रसाद जैसीले प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गुनासो गरे । उनले आफुहरुलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए । उनले भने, “ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौं ।” ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए ।