तस्करबाट घुस लिएको आरोप लागेका कञ्चनपुरस्थित नेपाल भारत सीमामा कार्यरत सशस्त्र प्रहरीका सई वीरेन्द्र चन्द मुख्यालय तानिएका छन्।
सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दको जिम्मेवारी खोसेर उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुुख्यालय कैलालीमा राखेर अनुुसन्धान सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पुनर्वास नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बीओपी आपतालका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दलाई शनिबार एक भारतीय तस्करबाट घुस लिएको आरोप लागेको हो।
उनलाई शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाइकलमा हार्डवेयरका सामान ल्याएका मुन्ना गुप्ता नाम गरेका भारतीय तस्करबाट ५० हजार रकम घुस लिई छोडिदिएको आरोप लागेको थियो। आरोपपछि सई चन्दलाई डीआईजी कार्यालय बाहिनी मुख्यालय कैलाली तानिएको बताइएको छ।
पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीका प्रमुख चन्दलाई अनुुसन्धानको दायरामा ल्याइएको हो ।
चन्दमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको जिम्मेवारीबाट हटाएर उनीमाथि छानबिन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुुख्यालय कैलालीले जनाएको छ ।
वैद्यनाथ बाहिनी मुुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)दुर्गाप्रसाद भट्टराईले चन्दमाथि लागेको आरोपबारे छानविन गर्न उनलाई मुुख्यालय झिकाइएको बताए ।