नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्ष ल्स्गाएर गरेको अनुसन्धानपछि बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा झन्डै पौने १४ अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउने तयारी गरिरहेको छ।
ललिता निवास परिसरको जग्गा हडप्न तत्कालीन भोगाधिकारी र भूमाफिया तथा यससम्बन्धी निर्णयमा संलग्न डिल्लीबजार मालपोत, भूमिसुधार विभाग, नापी विभाग, गुठी संस्थान तथा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने भूमिसुधार र भौतिक योजना मन्त्रालयका तत्कालीन सचिवसम्मलाई प्रतिवादी बनाएर बिगो असुल तथा किर्ते कसुरमा कैद र सजाय मागदाबी गरिने भएको छ ।
सीआईबीले अदालतबाट दुईसय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको भए पनि हालसम्म जम्मा तीन जनालाई पक्राउ गरेको छ। सीआईबीले रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी र अर्का आरोपित शोभाकान्त ढकाललाई मात्र पक्राउ गरेको छ।
सीआईबीले अनुसन्धान प्रतिवेदन बिहीबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको प्राप्त समाचारमा जानकारी उल्लेख छ ।
जग्गा हिनामिना गर्नेविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ अनुसार मुद्दा चलाउने गरी राय लेख्ने काम भइरहेको सीआईबी स्रोतले जनाएको छ ।
सुवर्णशमशेरका तत्कालीन भोगाधिकारी, भूमाफिया, कर्मचारी र ‘राजनीतिक व्यक्ति’ समेतको सेटिङमा ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम सरकारी जग्गा हडपिएको सीआईबीको निष्कर्ष छ । काठमाडौं महानगरपालिकाले त्यहाँको जग्गाको हालसालको न्यूनतम बजार मूल्य प्रतिआना ६० लाख रुपैयाँ कायम गरिदिएको छ । उक्त मूल्यअनुसार हडपिएको जग्गाको कुल बिगो करिब १३ अर्ब ७६ करोड रुपैयाँ हुन्छ ।
स्रोतका अनुसार आरोपितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा २ को क र ख बमोजिम मुद्दा चलाउने तयारी छ । उपदफा २ मा ‘कसैले सर्वसाधारण वा कसैलाई हानिनोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई लाभ पुर्याउने नियतले कुनै झूटा लिखत वा झूटा विद्युतीय अभिलेखको झूटा अंश वा भाग बनाउने काम गरेमा निजले किर्ते गरेको मानिनेछ’ भनिएको छ । उपदफा २ को ‘क’ मा लिखतमा लागेको औंठा छाप, छाप र लिखतमा जनिएको अंक, अक्षर, मिति वा अन्य कुनै व्यहोरा हेरफेर गरे किर्ते हुने उल्लेख छ ।
स्रोतका अनुसार सीआईबीले प्रतिवेदनमा जग्गा हडप्न भूमाफिया, कर्मचारी र सुवर्णशमशेरका तत्कालीन भोगाधिकारीको मिलेमतोमा मालपोत, भूमिसुधार, गुठी र नापीबाट किर्ते कागजात बनाई त्यसकै आधारमा फाइल खडा गरी सदर गर्न मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको जनाइएको छ । जग्गा प्रशासनका मापदण्ड/नियमावली/मन्त्रिपरिषद्का निर्णय/निर्देशिकालगायत सार्वजनिक लिखत किर्ते गरेको आरोप लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा बिगो खुलेबमोजिम असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।
शोभाकान्तविरुद्ध राजस्व छलीमा पनि मुद्दा
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकाल, उनकी पत्नी उमाकुमारी ढकाल्नी र पारिवारिक सदस्य सरोज ढकाल राजस्व छलीको मुद्दामा पनि तानिएका छन् । राजस्व अनुसन्धान विभागले उनीहरूसहित आनसान इन्टरनेसनल प्रालिका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एन्ड कम्पनीका प्रोप्राइटर राजेश्वर श्रेष्ठविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । ढकाल दम्पतीसहित सरोज र सान्टु आसमान इन्टरनेसनल प्रालिका सञ्चालक हुन् ।
ललिता निवास प्रकरणमा किर्तेमै अनुसन्धान जारी रहेका बेला राजस्वले राजस्व चुहावट गर्ने मनसायले जालसाजी, नक्कली तथा झूटा मूल्य अभिवृद्धिकरण विवरण, वित्तीय विवरण तथा आयविवरण तयार पारी फर्मबाट कारोबार शून्य देखाएर राजस्व छलेको कसुरमा मुद्दा दायर गरेको हो ।
विभागका अनुसार आरोपितहरूले मूल्य अभिवृद्धिकरतर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ गरी १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व चुहावट गरेको गरेको अनुसन्धानबाट खुलेको छ । चुहावट भएको रकम बिगो र सोही बराबरको रकम जरिवाना मागदाबी गर्दै मंगलबार विभागले मुद्दा दायर गरेको हो । आनसानका चारैजना सञ्चालकलाई बिगो र जरिवानाबाहेक ३ वर्ष कैद मागदाबी गरिएको छ । लेखापरीक्षण गर्ने श्रेष्ठलाई भने १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ ।
ढकाल दम्पतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । अदालतको आदेशमा शोभाकान्त डिल्लीबजार कारागारमा छन् ।