बुटवलबाट गुल्मीको रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा सात जनाको निधन भएको छ भने आठ जना घाइते भएका छन् । बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीतर्फ जादै गरेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै निधन भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए ।
त्यस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् । त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।
दुर्घटनाबाट परी १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।
ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घटना भएको प्रहरीकोे ठमाइ छ ।