नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनकाे बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
शुक्रबार प्रतिवेदनमाथि २५ समूहबाट उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएलगत्तै बन्दसत्रले उनले पेश गरेको उक्त प्रस्ताव सर्वसम्मत तरिकाले पारित गरेको हो । सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए । त्यसमा पुरक प्रस्ताव राखेका राम कार्की र हरिबोल गजुरेलले मत समेटिएको प्रचण्डले बताए।
त्यस्तै नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई भने सम्मान गर्ने तय भएको प्रचण्डलेब बताए। यद्यपि बन्द सत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले न्यौपानेले पार्टी प्रणालीमा नभइ बाहिर फरक मत राखेको प्रति असन्तुष्टि भने जनाएका थिए। ‘उहाँको विचारलाई भिन्नमतको रुपमा स्वीकार गरिन्छ र आवश्यकता परेमा छलफलमा समेत लगिनेछ, प्रचण्डले भनेका थिए, ‘भिन्नमतको सम्मान र बहसबाट मात्रै सहि विचारको विकास हुन्छ भन्नेमा माओवादीले विश्वास गर्दछ।’
न्यौपानको शैलीप्रति प्रचण्डको असन्तुष्टि थियो, ‘त्यसरि राखिएको उक्त मत सै प्रतिनिधिमाझ छलफलका लागि जाने थियो तर वहाँले छलफलमा नल्याइकन नै सार्वजनिक गर्नु भयो।’ अहिले वैचारिक विकासको शुरूआत भएको र चुनावपछि विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्ने प्रचण्डले बताए। ‘सङ्गठनको रूपान्तरण र विचारलाई अझ विकसित गर्नका लागि चुनावपछि त एउटा अधिवेशन गर्नुपर्छ,’ प्रचण्डले भने, ‘वैचारिक विकासको सुरूआत भएको छ। चुनावपछि विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्छौं।’
अध्यक्ष प्रचण्डको उक्त प्रतिवेदनमाथि नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले फरक मत राखेका थिए । उनीहरुले राखेको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले कुनै जवाफ दिएका छैनन् ।
उनले बन्द सत्रमा बोल्नेक्रममा सबैको भावना समेट्ने गरि अघि बढाएको बताएका छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।
महाधिबेशन प्रतिनिधिहरुले प्रतिबेदनमाथि राखेको जिज्ञासाको जवाफ दिदै अध्यक्ष प्रचण्डले विचार निर्माणका लागिआगामी चुनाव लगतै पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए । अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा परिमार्जनसहित राष्ट्रिय हित अनुकूल बनाएर एमसीसी पारित गर्ने बताए । यस्तै अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने भन्दै यसका लागि जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको उल्लेख गरे ।
बन्त्रसत्रमा प्रतिनिधिहरुले जुनजुन विषय चर्कोसँग उठाए, त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन बसिदिए । शुक्रबार झण्डै दुई घण्टा लामो जवाफ दिएका उनले धेरै आफू रुपान्तरित हुन तयार रहेको विश्वास दिलाउन धेरै समय खर्चिए । डेरा सरेर गाउँतिर जाने पारिवारिक सल्लाह भएको सुनाए, आफू विना नै केन्द्रीय कमिटी बस्ने अवस्था आउनसक्ने बताए । जवाफमा प्रचण्डले मौनता साँधेको एउटा विषय हो, प्रचण्ड विचारधारा ।
१२ पुसमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेस गरेका प्रचण्डले प्रचण्डपथ ब्यूँताउने बहसको च्याप्टर क्लोज गरेका थिए । पार्टीमा पर्याप्त छलफल नगरी प्रचण्डपथ स्थगन गर्नु गलत भएपनि अब त्यहीँ फर्किनु पश्चगमन हुने उनको तर्क थियो । समाजवादी क्रान्तिको रणनीति अन्तरर्गत नयाँ विचार संश्लेषण गर्दा प्रचण्डपथ र २१औं सताब्दीको जनवाद सन्दर्भ सामाग्री हुने उनले बताए ।
त्यही त्याद्रो समाएर प्रचण्डपथ ब्यूँताउनुपर्छ भन्नेहरुले समूहगत छलफल र बन्दसत्रमा प्रस्ताव गरे, अब विकास गर्ने नयाँ विचारलाई प्रचण्ड विचारधारा भनौं ।
शुक्रबार जवाफ दिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले नयाँ विचारलाई प्रचण्ड विचारधारा भन्ने प्रस्तावलाई स्वीकार त गरेका छैनन्, तर प्रचण्डपथको झै च्याप्टर क्लोज पनि गरेनन् ।
बरु २०४५ सालमा सानो समूहको महामन्त्री भएको आफ्नो नेतृत्वमा जनयुद्ध हुनुका साथै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको भन्दै प्रचण्ड व्यक्ति मात्र नभएको तर्कलाई बल दिए । एक महाधिवेशन प्रतिनिधि भन्छन्, ‘साथीहरुमा प्रचण्ड विचारधाराप्रति निकै मोह देखिएको थियो । प्रचण्डले पनि त्यसको खण्डन गर्नुभएन । बरु विचार निर्माणका लागि विशेष महाधिवेशन गर्ने भनेर पन्छाउनुभयो । यसले प्रचण्ड विचारधाराप्रति उहाँका पनि मोह रहेको देखाउँछ ।’
आगामी चुनावपछि विचारमा बहसका लागि विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव छ, जसलाई महाधिवेशनको बन्दसत्रले स्वीकार गरेको छ । यसले प्रचण्ड विचारधारा भनौं भन्ने माओवादी नेताहरुलाई उत्साहित बनाएको छ ।
प्रचण्ड विचारधारा बनाउनुपर्छ भन्ने प्रस्ताव राखेका वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पनि राजनीतिक प्रस्तावमा अहिलेको परिर्वतनको नेतृत्वदायी भूमिका प्रचण्डले खेलेको लेखिने भएकाले बहसको सुरुवात भएको बताए । त्यसलाई विशेष महाधिवेशनसम्म विचारका रूपमा संश्लेषण गर्न सहज हुने उनको विश्वास छ ।