नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पोखराका पर्यटन तथा होटल व्यवसायीहरूलाई दु:ख नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।पोखरामा आयोजित सडक महोत्सबको उद्घाटन गर्दै मन्त्री खाँणले सुरक्षाकर्मीहरुलाई त्यस्तो निर्देशन दिएका हुन्।
प्रहरीले राति राति होटल तथा रेस्टुरेन्ट छिरेर बन्द गराउँदै हिँड्ने गरेको कार्यप्रति संकेत गर्दै गृहमन्त्री खाँणले अघि भने,”रेस्टुरेन्ट र होटललाई बन्द गर्न तपाईँहरू जाने होइन । त्यहाँको शान्ति सुरक्षा खलबल भयो, होटलका मजदुर र कर्मचारी र लगानीकर्ता माथि अभद्र व्यवहार भयो या त्यहाँ बस्ने कस्टमरलाई सुरक्षाको आवश्यक भयो भने प्रहरी पुग्नुहोला।’
मन्त्री खाँणले कार्यक्रममा उपस्थ्ति गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिआइजीलाई इंगित गर्दै,‘पोखराका कुनै पनि रेस्टुरेन्टमा राति अगाडिको ढोकाबाट हैन पछाडिको ढोकाबाट निस्किनुपर्ने बाध्यात्मक परिस्थितिलाई बन्द गराउन र ससम्मान अगाडिको गेटबाट निस्किन सक्ने व्यवस्था मिलाउन निर्देशन दिए।
पर्यटन व्यवसायीलाई दु:ख नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका मन्त्री खाणले हरेक पटक मन्त्री आउदा पोखराका पर्यटन ब्यबसायीले फेवातालको मात्र बिषय उठाउने गरेको भन्दै व्यंग्य गरेका थिए। उनले अघि भने ,”पोखराका स्थानीयबासीदेखि व्यवसायीले पनि ताल संरक्षणका योजना लागु गर्न आग्रह गर्छन्। तर, अहिलेसम्म देखिने गरी कसैले पनि ताल संरक्षणको योजना अघि बढाएका छैनन्।
लेकसाइडका स्थानीयले चाहने हो भने आफू काठमाडौं फर्कने बित्तिकै फेवाताल संरक्षण प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत जनाए। ‘तपाईंहरूले फेवाताल संरक्षण प्रतिवेदन कार्यान्वयन होस् भन्नुहुन्छ भने म यहाँबाट फर्केर जाने बित्तिकै प्रारम्भ गर्न आग्रह गर्छु, उनले भने, ‘फेवाताल संरक्षणका प्रतिवेदनहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ।’