निरन्तर जनमत पार्टीको आमहडताल र चक्काजाम : सिराहामा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

निरन्तर जनमत पार्टीको आमहडताल र चक्काजाम : सिराहामा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी


  • जन संचार
  • मंगलबार, १३ पुष २०७८
  • 3.7K
    Shares

जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिराहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज -पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कबारीले सूचना जारी गर्दै बताएका छन् ।

तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -२) र -३) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । यो आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ ।

जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित जिल्लामा बन्द हडताल गरेका छन् । सो क्रममा गाडीहरूमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

यस अघि व्यवसायीको मृत्युको विषयलाई लिएर विरोधमा उत्रिएको जनमत पार्टीका नेता-कार्यकर्ताले सर्लाहीको ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेको इलाका प्रहरी कार्यालय हरिपुरको बा.१ झ ७४८२ नम्बरको गाडी जलाएका थिए । प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई लखेट्न केही राउन्ड अश्रुग्याँस फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार गाडीमा आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका-७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका-५ का व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो ।

प्रहरीले भने महतोले चलाइरहेको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं प्रहरीको भ्यानमा ठोक्किएको जनाएको छ । प्रदर्शनकारीहरुले रातको समयमा भएको घटना प्रहरीले लुकाएको आरोप लगाउँदै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया