शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ दिनभित्र विदेशी शिक्षण संस्थाहरुको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । मंगलबार बसेको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिको बैठकबाट ५ सदस्य समिति गठन गर्दै मन्त्री पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरुको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।
समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाहरुको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । नवीकरणका लागि सबै शिक्षण संस्थाहरुले निवेदन पेश गरेपनि कोभिड लगायतका कारणले निरीक्षण तथा अनुगमन हुन नसकेको शर्माको भनाइ छ ।