प्रमुख पतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच संसद अधिवेशनको पहिलो बैठक सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विभिन्न छ वटा विधेयकहरु प्रस्तुत गरेर संसद स्थगित गरिदिएका छन्।
संघीय संसदको हिउँदे अधिवेशन बैठक सुरु भएलगत्तै पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै कारबाही नहुन्जेलसम्म बैठक अघि बढ्न नदिने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका थिए। एमाले सांसदहरुले नाराबाजी गरिरहेकै अवस्थामा सभामुख सापकोटाले सरकारका तर्फबाट विभिन्न विधेयकहरु संसदमा पेश गर्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाइ अनुमति दिएका थिए।
सभामुख सापकोटाको अनुमति पाउनासाथ एमाले सांसदको नाराबाजीका बीच मन्त्री बडुले सरकारका तर्फबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका थिए । त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।
मन्त्री बडुले बिधेयक संसदमा प्रस्तुत गरिसकेपछि पनि एमाले नेताहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले संसद एक हप्ताका लागि स्थगित भएको घोषणा गरेका थिए। संसदको अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।