पोखराको मणिपाल अस्पतालमा साझेदारी मिलाइदिने भन्दै डाक्टरबाटै ५० लाख रुपैयाँ ठगी गर्ने भारतीय नागरिक शिवम विरुमुथु पुर्पक्षका लागि जेल चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताएको समाचार स्वास्थ्य खबर डटकममा नारायण अधिकारीले लेखेका छन्। विरुमथले रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आईसीआरसी)को निर्देशक भएको मणिपाल अस्पतालमा साझेदारी मिलाइदिने भन्दै एक डाक्टरबाट मात्रै ५० लाख रुपैयाँ ठगी गरेका थिए।
त्यसैगरी अर्का एक व्यक्तिलाई मलेसियन कम्पनी योङ लियानको डाइरेक्टर बनाइदिने भन्दै ३९ लाख रुपैयाँ ठगी गरेका थिए।
भारतको चेन्नेई घर भइ काठमाडौंको बालुवाटार बस्दै आएका ४४ वर्षीय विरुमुथु मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरसँग कुराकानी भइ सम्झौताका लागि मस्यौदा समेत तयार भइरहेको भनेर झुटा कागजात र कुराकानी तयार गरी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गरेका थिए।