कक्षा १२ को नतिजा प्रकाशनमा असन्तुष्टि जनाउदै नि:शुल्क पुनर्योग (Re-Totaling)को माग गरेका बिद्यार्थीहरुमाथि आइतबार दिउसो प्रहरीले निर्ममतापूर्वक दमन गरेको छ भने पक्राउ परेका १७ जना मध्ये दुई जनालाई मुद्दा चलाउने भएको छ।
नि:शुल्क पुनर्योगको माग राखेर पोखराको ड्यामसाइडस्थित प्रदेश परीक्षा व्यवस्थापन बोर्ड कार्यालयमा पुगेका बिद्यार्थीहरुले कार्यालयमा तालाबन्दी गर्न खोजेपछि निर्ममतापूर्वक लाठीचार्ज गरेको थियो। प्रहरीले लाठीचार्ज गरेपछि प्रहरी र बिद्यार्थीहरु बीच ढुंगा हानाहान समेत भएको थियो। प्रहरी र बिद्यार्थी बिचको भिडन्तमा केही प्रहरी र केही बिद्यार्थी घाइते भएका छन्। बिद्यार्थीहरुले हानेको ढुंगा लागेर परीक्षा ब्यबस्थापन कार्यालयको झ्यालहरु फुटेका छन्।
बिद्यार्थीहरु तोडफोडमा उत्रिएपछि प्रहरीले आन्दोलनकारी बिद्यार्थी संगठनका बिद्यार्थी नेताहरुलाई लखेटी लखेटी लाठी प्रहार गरेको थियो भने १७ जना बिद्यार्थी नेताहरुलाई पक्राउ पनि गरेको थियो। पक्राउ परेका १७ जना मध्ये नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का नेता विनायक तिमिल्सिना लगायत दुई जनालाई वडा प्रहरी कार्यालय बैदामको हिरासतमा नै राखिएको छ भने बाँकी सबैलाई छाडिएको प्राप्त समाचारमा जनाइएको छ। प्रहरी हिरासतमा रहेका बिद्यार्थी नेताहरुलाई मुद्दा चलाउने तयारी भैरहेको समाचार स्रोतको दाबी छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, आइतबार दिउसो पक्राउ परेका सबै बिद्यार्थी नेताहरु रिहा नभएको भन्दै आन्दॉलनरत बिद्यार्थी संगठनहरुले सोमबार बिहानैदेखि आन्दोलनलाई चर्काउने निर्णय गरेका छन्। उनीहरुले सोमबार बिहान राष्ट्रिय परिक्षा बोर्डसंग गर्ने भनिएको वार्तामा नबस्ने घोषणा गरेका छन्। यस्तो घोषणा गर्नेहरुमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी) समाजवादी विद्यार्थी युनियन लगायतका बिद्यार्थी संगठनहरु रहेका छन्।
उनीहरुले आइतबार साँझ एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै कक्षा १२ का विद्यार्थीले गरेको शान्तिपूर्ण विरोधमा प्रहरी प्रशासनले गरेको दमनप्रति विरोध गरेका छन्। उनीहरुले नियन्त्रणमा रहेका विद्यार्थीको रिहाइ र चोटपटक लागेका विद्यार्थीको निःशुल्क उपचार गर्नुपर्ने माग राखेका छन्।
के हो बास्तबिकता ?
राष्ट्रिय परिक्षा बोर्डले हालै कक्षा १२ को परिक्षाफ़ल प्रकाशन गरेको थियो। प्रकाशित परिक्षाफलमा कास्की जिल्लाका करुनानिधि एजुकेशन फ़ाउन्देशन(केफ), भानुभक्त मा.वि, नेसनल कृएशन, र पश्चिमान्चल उच्च माविको कानुन संकायका बिद्यार्थीहरुकों नतिजा सन्तोषजनक नन्हेको र निशुल्क पुनर्योग (Re-Totaling)को ब्यबस्था गरिदिन भन्दै गत हप्ता एक ज्ञापन पाटा बुझाएका थिए। ज्ञापनपत्र बुझाएको एक हप्ता हुँदा पनि पोखरास्थित परिक्षा बोर्डको कार्यालयले बेवास्ता गरेको भन्दै आज कार्यालय परिसर बाहिर प्रदर्शन गरेका थिए। त्यसै क्रममा उनीहरुले परीक्षा बोर्डको पोखरा कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए।
आन्दोलनरत बिद्यार्थीहरुले कार्यालयमा तालाबन्दी गरेमा अन्य विद्यार्थीको काम कारबाहीमा बाधा पर्ने भन्दै प्रहरीले आन्दोलनरत बिद्यार्थीहरुलाई कार्यलय परिसरमा प्रवेश गर्न दिएको थिएन। तर बिद्यार्थीहरुले जबरजस्ती कार्यालय परिसरमा प्रवेश गरेपछि केही बेर प्रहरी र बिद्यार्थी बीच धकेलाधकेल भएको थियो। त्यही क्रममा प्रहरीले भिड नियन्त्रण गर्ने भन्दै बिद्यार्थीमाथि लाठीचार्ज गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यही क्रममा केही बिद्यार्थी घाइते भएका थिए भने आक्रोशित बिद्यार्थीहरुले हानेको ढुंगा लागेर केही प्रहरी पनि घाइते भएका थिए भने परिक्षा बोर्डको कार्यलयका झ्यालका शिश फुटेका छन्। प्रहरीले त्यसपछि आन्दॉलनकारी बिद्यार्थीहरुलाई लखेटी लखेटी लाठी हान्दै पक्राउ गरेको थियो।
विद्यार्थीको माग के हो ?
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजाप्रति असन्तुष्ट कानुन संकायका विद्यार्थीले आफूमाथि अन्याय भएको भन्दै एक हप्तादेखि बोर्डको कार्यालयमा आन्दोलन गरिरहेका छन् । आफूले लेखेको भन्दा कम अंक दिइएको र जाँचकले हेलचेक्र्याइँ गरेकाले त्यसको छानबिन हुनुपर्ने माग विद्यार्थीको छ । उनीहरुले आफ्नो उत्तरपुस्तिका पुनः जाँच हुनुपर्ने र त्यसमा लाग्ने समय र आर्थिक खर्चसमेत कम गराउनुपर्ने माग राख्दै आएका छन् । उत्तर पुस्तिकाको पुनः जाँच गर्न पहिले प्राप्तांक, पूर्णांक पनि हेर्नुपर्ने बाध्यकारी नियम भएकाले लामो समय लाग्ने र त्यसले आफूहरुको भविष्य नै अन्योल हुने विद्यार्थीको चिन्ता छ ।
‘अबको केही दिनमा युनिभर्सिटीहरुले भर्ना खोल्न सुरु गर्छन् । हामीले पाएको नतिजाले भर्ना हुन त के मार्कसिट निकाल्न पनि सक्दैनौं,’ पश्चिमाञ्चल क्याम्पसकी सम्झना भट्टराईले भनिन्, ‘यसले हाम्रो भविष्य नै डामाडोल हुने भयो ।’
स्नातकका लागि विभिन्न विश्वविद्यालयले प्रवेश परीक्षाका लागि आवेदन खुलाउने समय भइसक्दा पनि आफूहरु ‘रिचेक र रिटोटलिङ’को झमेलामा फस्नु परेको विद्यार्थीले दुखेसो पोखेका छन् । एउटा विषयकै पुनः जाँच गर्न ३ हजार रुपैयाँसम्म लाग्ने हुनाले त्यसमा समेत पुनर्विचार गर्न उनीहरुले माग गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा असन्तुष्टि भए पुस ४ गतेसम्म प्राप्तांक पुनर्विचारका लागि निवेदन दिन सक्ने गरी समयावधि तोकेको छ । प्राप्तांक पुनर्विचारका लागि विद्यार्थीले प्रतिविषय ५ सय रुपैयाँ दाखिला गर्नुपर्ने हुन्छ ।
उक्त नतिजामा पनि विद्यार्थीको असन्तुष्टि रहे पुनः परीक्षणका लागि फेरि निवेदन दिनुपर्ने हुन्छ । त्यसका लागि अघिल्लो वर्ष प्रतिविषय २ हजार रुपैयाँ तोकेको थियो । तर, यस वर्ष निर्णय गरिनसकेकाले अन्योल नै रहेको प्रदेश परीक्षा व्यवस्थापन बोर्ड प्रमुख विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
गण्डकीमा ७ वटा विद्यालयमा यसै वर्षदेखि कानुन संकाय पढाइ शुरु भएको थियो । ७ विद्यालयका करिब २ सय जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । त्यसमध्ये कानुनमा उच्च अंक ल्याउने विद्यार्थीको ग्रेड नै ‘बी प्लस’ मात्रै भएको विद्यार्थीले जानकारी दिएका छन् ।
कोरोनाका कारण २ पटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षा दिएको २ महिनाभित्रै बोर्डले शुक्रबार नतिजा प्रकाशन गरेको हो । कोरोनाका कारण विद्यार्थीले आफू पढेकै स्कुलबाट परीक्षा दिएका थिए । अघिल्लो पटक स्कुल आफैंले परीक्षापत्र जाँच गरेको थियो भने यसपटक बोर्डले नै जाँचेको थियो ।
‘फास्ट ट्रयाक’मा काम भइरहेको छ : श्रेष्ठ
प्रदेश परीक्षा व्यवस्थापन बोर्ड, गण्डकी प्रमुख विष्णुनारायण श्रेष्ठले विद्यार्थीले उठाएका मागप्रति आफूहरु गम्भीर रहेको र त्यसको जानकारी राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई दिइसकेको जानकारी दिए ।
‘विद्यार्थीको परिश्रम कसैले लुकाएर, ढाँट्न पाउँदैन । विद्यार्थीको माग भनेको पैसा धेरै भयो, मर्का पर्यो भन्ने हो । केन्द्रीय कार्यालयलाई त्यसबारे जानकारी दिइसक्या छौं,’ कार्यालय प्रमुख श्रेष्ठले अघि भने, ‘नियम, निर्देशिका, परिपत्रले के भन्छ त्यो अनुसार हामी जाने हो । त्यसमा पनि फास्ट ट्रयाकबाट नतिजा प्रकाशन गर्ने कुरा भएको छ ।’
श्रेष्ठले कक्षा १२ को परीक्षामा धेरै विद्यार्थी सामेल भएको उत्तरपुस्तिका प्रदेशमै जाँचिएको र थोरै विद्यार्थी सामेल भएको उत्तरपुस्तिकाले प्रदेशले जाँच नगरी परीक्षा नियन्त्रण कार्यालयलाई नै पठाइएकाले प्राप्तांकबारे आफूहरु अनविज्ञ रहेको बताए ।
‘थोरै विद्यार्थी भएका विषयमध्ये कानुन विषय पनि थियो । त्यो हामीले यता नजाँचेर सीधै केन्द्रमा पठायौं,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘केन्द्रमा गइसकेपछि पनिकाले कता पठायो, कसरी जाँच गर्यो हामीलाई जानकारी हुने कुरा भएन ।’ उनले विद्यार्थीको मागमा आफूहरु गम्भीर रहेको प्राप्तांकबारे तत्काल निर्णय गर्न केन्द्रीय कार्यालय पनि सकारात्मक रहेको जानकारी दिए ।