नेपाली कांग्रेसको चौधौं महाधिबेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहदा त्यस पार्टीभित्रका गुटउपगुट भत्किएर नयाँ गुटहरु जन्मिएको छ भने पार्टीभित्र रहेको रामचन्द्र गुट टुक्रा-टुक्रा भएर पार्टीभित्र नयाँ गुटको निर्माण भएको छ।
नेपाली कांग्रेसको चौधौं महाधिबेशनमा यसभन्दा अघि सक्रिय रहेको भनिएको कृष्ण प्रसाद सिटौला गुट शेर बहादुर देउबा गुटमा समाहित भएको छ भने गुटको नेतृत्व गरिरहेका रामचन्द्र पौडेलले आफ्नो गुट छिन्नभिन्न लाग्दा पार्टी सभापतिमा उम्मेद्वारी नै दिएनन। उनको गुटमा रहेका शेखर कोइराला, प्रकाश मान सिंह र बिमलेन्द्र निधिले आगामी दिनमा नयाँ गुट संचालन गर्ने संकेत गरी समुहगत नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार भएको उम्मेदवारी मनोनयनमा सभापति पदका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
देउवा र कोइरालाले पदाधिकारीसहित सबै पदमा प्यालनसहित उम्मेदवारी दिएका छन् भने सिंहले पदाधिकारीमा एक उपसभापति र एक महामन्त्रीमा उम्मेदवार बनाएका छन् । त्यस्तै विमलेन्द्र निधिले पनि पदाधिकारीमा आफ्नो समूहबाट सभापतिसहित एक उपसभापति र एक महामन्त्रीको उम्मेदवार उठाएका छन् । गुरुङ र न्यौपानेले भने सभापतिमा मात्रै उम्मेदवारी दिएका हुन् ।
संस्थापन समूहको नेतृत्व गरेका देउवा र पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका कोइरालाको समूहबीच नै महाधिवेशनमा मुख्य प्रतिस्पर्धा हुने कांग्रेसका नेताहरु बताउँछन् । दुबै समूहले सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ वटै पदमा उम्मेदवारी दिएका छन् ।
पौडेल समूहबाट नेता सिंह बाहिरिए । सिंहकै अडानका कारण साझा उम्मेदवार दिन नसक्दा नेता पौडेल महाधिवेशन प्रक्रियाबाटै बाहिरिएका थिए । तर पौडेलको समर्थन भने नेता डा. शेखर कोइरालालाई छ । समूहको नेताहरुले पनि शेखरलाई साथ दिएका छन् र, त्यसरी नै टीम बनेको छ ।
पौडेल समूहबाट अलग भएर सभापतिमा उम्मेदवारी दिएका सिंह भने गुटगत अंकगणितमा कमजोर देखिएका छन् । उनले पौडेल समूहबाटै सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाएका छन् । यससँगै कांग्रेसभित्र एक ठाउँमा रहँदै आएको कोइराला परिवारलाई विभाजित गराउन उनी सफल भएका छन् ।
आम निर्वाचनको झल्को दिने गरी नेताहरु दलबलसहित उम्मेदवारी मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका थिए ।