बडुवाल हत्या प्रकरण : २१ जनाविरुद्ध मुद्दा दर्ता, १२ पक्राउ, नौजना अझै फरार

बडुवाल हत्या प्रकरण : २१ जनाविरुद्ध मुद्दा दर्ता, १२ पक्राउ, नौजना अझै फरार


  • जन संचार
  • सोमबार, २० मंसिर २०७८
  • 3.3K
    Shares

कैलालीको लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीले नौ जना फरार्साहित २१ जना अभियुक्तविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेको छ। कात्तिक २३ गते मंगलबार राति भएको बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना विरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरेर लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावरको ठेक्कापट्टामा आफ्नो वर्चस्व कायम गर्न युवाको समूह बनाइ लोकजङ्गले आपराधिक लाभको लागि परिचालन गर्ने गरेको प्रहरीले जनाएको छ । सो समूहलाई टीकापुर नगरपालिका–६ का ३५ वर्षीय अशोक रावलले संरक्षण गर्दै आएका छन् ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार, हत्यामा संलग्न लम्की चुहा नगरपालिकाका नविन रावल, दीपेन्द्र शाही भनिने धिरज, मदन शाही, विकास खड्का, विकास श्रेष्ठ, आर्यन देवकोटा, निशान्त मल्ल, टीकापुरका प्रविन रिमाल, बर्दिया घर भइ टीकापुर बस्ने रोहित आले, सोहन शाह, बर्दगोरियाका लोकेन्द्र कुँवर, बर्दियाका सविनजंग शाही, चिरन्जीवी शाही हिमाल शाही, रोशन शाही, अशोक रावल र हेमन्त शाही गरी १५ जनालाई जन्मकैदको सजाय माग गरी अदलतमा मुद्दा दर्ता गरिएको छ।  ती १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय मागदाबी गरिएकोप्रहरीले जानकारी दिएको  छ।

यस्तै प्रहरी अनुसन्धानबाट हत्याका मुख्य योजनाकार भनिएका लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७(१) बमोजिम दफा १७७ (२) कसुरमा जन्मकैद सजायको माग अदालतमा गरिएको उनले बताए।
हत्यामा मतियार भएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) क बमोजिम कसुर गरे सरह दफा ३६ को (१) र (२) कसुरमा जन्मकैदको सजाय माग गरिएको छ।

कैलाली प्रहरीका अनुसार महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रविन रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाही गरी १२ जना पक्राउ परेका छन्।
यस्तै नविन रावल, चिरन्जीवी शाही, हिमाल शाही, जयेन्द्र शाही, विकास श्रेष्ठ, रोशन शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही गरी ९ जना हालसम्म फरार छन्।

यस्तो छ घटनाक्रम

२०७८ भदौमा काठमाण्डौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नविन रावल समूहको हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार ग¥यो । तत्पश्चात कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नविन रावल र निजको समूहमाथि आक्रमण गर्ने योजना बनाइ कार्तिक १७ गते काठमाण्डौंबाट लम्की आएको । कार्तिक २० गते लम्की पुगेका उनी मुनमुन होटलमा एकरात बसी २१ र २२ गते बौनियास्थित अनुकूल होटलमा बसी नविन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरको खोजी गरे ।

कार्तिक २३ गते नविन रावलसमेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्नो समूहलाई खबर गरी खेल मैदानमै आक्रमण गर्न खोजे पनि आफ्नो समूह समयमै लम्की पुग्न नसकेका कारण सो ठाउँमा आक्रमण गर्न सकेनन् । मदन शाहीले टीकापुर हिडेका नविन रावल समेतलाई बाटोमा भेटी जयन्द्रको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको जानकारी दिएपछि नविन रावल आफ्नो समूह (आर्यन, हिमाल, हेमन्त, मदन, चिरञ्जिवी, रोशन, निशान्त, धीरज, रोहित सोहन, विकास शेरचनलाई) लाई रोड साइड क्याफेमा जम्मा गरी जयन्द्रको समूहको जुनसुकै व्यक्ति फेला पारी आक्रमण गर्ने योजना बनाए ।

कपिल श्रेष्ठ एक्लिएपछि नयाँ क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भूपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन बोलाएपटि भूपेन्द्र निजलाई लिन टीकापुर पुगेका थिए । यता, नविन रावलको समूह जयन्द्र समूहको व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजी सुरु गरेका थिए । उक्त समूहमा सबैभन्दा अगाडि सो ठाउँका स्थानीय रोहित आलेसंग आर्यन देवकोटा पहिला स्कुटीमा, निजको पछाडि अर्को स्कुटीमा चिरञ्जिवी शाही र रोशन शाही र नविन रावलसमेत निस्के ।

टीकापुर नगरपालिकाको जमरा पुल नजिक आर्यन देवकोटासमेतले भूपेन्द्र बडुवाललाई फेला पारि हामी विरुद्ध टीकापुरमा आएको हो भन्दै करिब दुई किलोमिटरसम्म लखेटेको । सिद्धार्थ होटल नजिक पु¥याए पश्चात भूपेन्द्र बडुवाल मोटरसाइकल छोडी आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन, चिरञ्जिवी, रोशन, रोहित आलेले कौशीदेवी विष्टको घरको पेटीमा नै भूपेन्द्र बडुवाललाई नियन्त्रणमा लिएर पेट, छातीको भागमा दुई पटक, पिठ्युको भागमा तीन पटक र टाउको पछाडि भागबाट एक पटक धारिलो हतियार प्रहार गरी भागेका थिए ।

हत्यामा संलग्न प्रतिवादीहरु नजिकै रहेको विष्ट आयल नजिक पुगी भाग्ने योजना अनुसार खुकुरी सोही स्थानमा फालेको र रोहितलाई आफ्नो घरतर्फ जानभनि पठाएका थिए ।नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जिवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगेर एक जनाले अपराध स्वीकार गर्ने र अरु भागेर फरार हुने योजना बनाए । योजनानुसार कात्तिक २४ गते विहान बौनिया बजारमा पुगेर आफूलेमात्रै अपराध गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै रहेको र नविन, हेमन्त, हिमाल, रोशन र चिरञ्जिवी शाही लोकजंग शाहीले बनाएको योजना अनुरुप बौनिया बजारभन्दा उत्तरतर्फको चायाँभावर गाउँमा लुकिछिपी बसेका थिए ।

लोकजंगकै योजना अनुरुप चायाँ भावर गाउँमा रहेका फरार प्रतिवादीलाई खाने, बस्ने, व्यवस्थापन गर्ने, खर्च रकम दिने र कात्तिक २५ गते उनीहरुलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिएर चायाँ भावर गइ निजहरुलाई उक्त कारमा धनगढी उपमहानगरपालिकाको जुगेडासम्म ल्याए ।सविनजंगले नै कार्तिक २६ गते भारतीय बलेरो जीप भाडामा व्यवस्था गरी नविन रावलसमेतलाई भारतको ढकिया गाउँसम्म पु¥याइ आफूले फर्केका थिए ।

नविन रावल समेतले प्रयोग गरेको दुई वटा मोटरसाइकल लोकेन्द्र कुँवरले बौनियाँमा ल्याइ नम्बर प्लेट परिवर्तन गर्न लगाइ बर्दियाको भुरीगाउँस्थित रोयल एडभेन्चर रिसोर्ट लुकाइछिपाइ राखेका थिए । कार्तिक २६ गते विहान सविनजंग शाहीले नविन रावलसमेतलाई भारततर्फ पठाइसकेपछि निजहरुको ५ थान मोबाइल आफूले लिएर मोबाइल लुकाइ छिपाइ गर्न बनबेहडा बस्ने डेबिड चन्द्र कडायतलाई राख्न दिएका थिए ।

 

 

प्रतिक्रिया