नेकपा एमालेको भात्री संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुक्रबार पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुखको कक्ष र शिक्षा प्रशासन शाखामा ताला लगाएका छन् । उनीहरुले कुनै शैक्षिक माग राखेर क्यामपसमा ताला लगाएका भने हैनन्। सत्तारुढ नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थी संघका नेता कार्यकर्ता सम्मिलित एक समुहले शुक्रबार बिहानै सोही क्याम्पसको पुरुष छात्राबासमा छिरेर बिद्यार्थीहरुलाई कुटे पछि कारबाहीको माग राखेर क्याम्पसमा ताला लगाएको हो।
प्राप्त समाचार अनुसार, शुक्रबार बिहान करिब ५ बजे नेपाल बिद्यार्थी संघका नेता शंकर रिजाल, बिज्ञान कार्की, रबि लामिछाने, दिवस लामिछाने, शैलेन्द्र केसी, सुस्मित जंग खड्का र प्रदिप पनेरु समेतका समुहले पुरुष छात्रावासमा पसेर बिद्यार्थीमाथि अन्धाधुन्द कुटपिट गरेका थिए। उनीहरुको कुटपिटबाट अन्य तीन जना बिद्यार्थी सामान्य घाइते भए पनि लेखनाथ भट्टराइलाइ उपचारका लागि अस्पताल लैजानु परेको थियो। उनको गण्डकी मेडिकल कलेजमा उपचार भएको थियो।

यसैबीच कुटाइ खार घाइते बनेका बिद्यार्थी लेखनाथ भट्टराईले आफूमाथि कुटपिट गर्ने कार्यमा संलग्नलाई कारबाहीकी माग राखेर क्याम्पस प्रशासन समक्ष निवेदन दिएका छन्। उनले आफ्नो निवेदनमा केही उच्छ्रिङ्खल प्रवृत्तिका बिद्यार्थीहरुले एकाबिहानै आफ्नो कोठामा प्रवेश गरेर सरसामान फाल्दै आफूमाथि अनाहकमा कुटपिट गरेको बताउदै आफुलाई कुत्नेहरुको नाम पनि खुलाएका छन्। उनले दोषीमाथि कडाभन्दा कडा कानूनी कारबाहीको माग त गरेका छन् नै, आफ्नो क्षति भएका सामानको क्षतिपुर्ति दिलाउन माग पनि गरेका छन्। भट्टराइले दिएको निवेदन अनुसार उनको ल्यापटप, मोबाइल, थर्मस र एलेक्त्रिक जग समेतमा क्षति पुगेको छ। उनले आफ्नो स्वास्थ्य उपचारको खर्च व्यहोर्ने ब्यबस्था मिलाई दिन पनि भनेका छन्।
यता सोही विषयलाई लिएर क्याम्पस प्रमुखसहितको प्रशासन बैठक समेत बसेको छ । बैठकले कुटपिटमा संलग्न विज्ञान कार्कीलगाएतका विद्यार्थीले मादक पदार्थ सेवन गरि पुरुष छात्रवासमा बस्ने केही विद्यार्थीहरुलाई कुटपिट गरि मोबाइल, ल्यापटप जस्ता सामानहरु तोडफोड गरेको र क्याम्पस प्रशासनको टिमलाई नै अभद्र व्यवहार गरेकाले आगामी ६ महिनाका लागि क्याम्पस हाताभित्र प्रवेश रोक्का र कुनै पनि शैक्षिक कार्यक्रममा प्रवेश गर्न नपाउने निर्णय गरेको छ ।
क्याम्पस प्रशासनले दोषीहरुमाथि कारबाही गरेको जानकारी दिएपनि विद्यार्थीको सुरक्षाको माग गर्दै क्याम्पस प्रमुखको कक्ष र शिक्षा प्रशासन शाखामा ताला लगाएको एमाले निकट अनेरास्वबिय्युले कुटपिटमा संलग्न सबै दोषीलाई कारबाही र प्रशासनले आधिकारिक निर्णय सार्वजनिक नगरिएसम्म ताला नखोलिने जनाएको छ ।

अनेरास्ववियुले जारी गरेको बिज्ञप्तिमा मादक पदार्थ सेवन गरि मोटरसाइकलमा क्याम्पस प्रवेश गरि होस्टेलमा बस्ने विद्यार्थीलाई कुटपिट गराएको उल्लेख छ ।
क्याम्पसमा यस्ता किसिमका गतिविधि नदोहोरिने गरि कदम चाल्नु आवश्यक रहेको अनेरास्ववियुद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । क्याम्पस हाता भित्रै विद्यार्थीलाई कुटपिट तथा हातपात हुने निन्दनिय कार्य भएको हुँदा त्यस्ता व्यक्तिलाई कडा कारबाही हुनुपर्ने अनेरास्ववियुले विज्ञप्तिमार्फत आफ्नो अडान सार्वजनिक गरेको छ।