एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान शुरु

एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान शुरु


  • जन संचार
  • मंगलबार, १४ मंसिर २०७८
  • 3.2K
    Shares

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि दुई घण्टा ढिलो मतदान शुरु भएको हो।

मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गरे ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा , घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रदेश १ अन्तर्गत खुला र महिलामा १/१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा एमाले पृष्ठभूमिकै नेताहरू उठेका हुनाले त्यहाँ कसैले पनि दाबी गरेन र पाँचवटा पदहरू निर्विरोध भइसके । तर, पूर्वमाओवादी नेताहरू उठेको उपाध्यक्ष र सचिव पदमा भने बागी उम्मेदवारी परेको हुनाले ‘एमाले भर्सेस माओवादी’ को रूप लिने सम्भावना रहेको नेताहरू बताउँछन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले भने, ‘सदस्य नवीकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका छन् भनेर यसअघि नै भनेको छु । यति हुँदाहुँदै पनि म परिणामलाई सहज रुपमा लिन्छु ।’

निर्वाचन आयोगका अनुसार यसअनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले सर्वसम्मतिको प्रयत्न गर्दा मतदान सुरु गर्न ढिला भएको बताए । अध्यक्षका उम्मेदवार भीम रावल पछाडि हट्न तयार नभएकाले सबैमा सर्वसम्मति हुन नसकेको भन्दै उनले भने, ‘सर्वसम्मति नभएकाले लोकतान्त्रिक प्रतिस्पर्धा भयो, यसलाई सहज र स्वभाविक ढंगले लिनुपर्छ ।’

प्रतिक्रिया