चुनाबी मैदानमा आज ओलीसंग भिड्दै रावल : केन्द्रीय कमिटीमा परेनन् दुर्गा प्रसाईं

चुनाबी मैदानमा आज ओलीसंग भिड्दै रावल : केन्द्रीय कमिटीमा परेनन् दुर्गा प्रसाईं


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 3.9K
    Shares

केपी शर्मा ओलीले गरेको सर्वसम्मतिको प्रस्तावलाई नकारेका भिम रावल आज ओलीसंग अध्यक्ष पदका लागि चुनाबी मैदानमा उत्रिने भएका छन्।  ओलीसंग अध्यक्ष पदमा भिड्न लागेको भनिएका रावलले निर्वाचन समितिले उम्मेद्वारी दर्ता गर्ने अवधि अहिले बिहान आठ बजेदेखि नौ बजेर ३० मिनेटभित्र उम्मेद्वारी दर्ता गर्ने तयारी गरेको बताइएको छ।

यसअघि गएराति नै मतदाता नामावली प्रकाशन गरिएको थियो । आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि नै ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

यसैगरी बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने र १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यदि कुनै उम्मेद्वारका विरुद्ध उजुरी परेमा बिहान १०ः५० बजेसम्म उक्त उजुरीउपर छानबिन र निर्णय हुनेछ । त्यसपछि ११ः५५ बजेदेखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ, उक्त समयमा उम्मेद्वारहरुले उम्मेदवारी फिर्ता नलिएमा मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ । सबै प्रक्रिया पूरा भएपछि राति ९ बजेदेखि बिहानको ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, पार्टीको महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका नेता घनश्याम भुसाललाई ओलीले घोषणा गरेको पदाधिकारी समुहमा समेटेका छैनन्।  उनी पनि ओलीको हेपाहा प्रबृत्ति प्रति असन्तुस्ट छन्।

ओलीबिरुद्ध संघर्षको मैदानमा उभिएका घनश्याम भुसाल ओलीको समुहमा नपर्नु त स्वाभाविकै हो।  तर पछिल्ला दिनहरुमा आफ्नो गृह जिल्लाको भन्दै खुल्ला रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उत्रिएका  झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईं ओलीको प्रस्तावित केन्द्रीय समितिमा नपरेपछि असन्तुष्ट देखिएका छन्।

केन्द्रीय सदस्य बनाउने ओलीको आश्वासनमै नेकपा (माओवादी केन्द्र) निकट रहेका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका थिए । त्यसपछि महाधिवेशन प्रतिनिधिमा मनोनित भएका प्रसाईं केन्द्रीय सदस्य हुनेमा ढुक्क थिए। उनले ‘ओलीकै आर्शिवाद’का कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका थिए ।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ केन्द्रीय सदस्य कमिटीको सूची पेस गरे । ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाए । ओलीले ३०१ जनाको नाम पढिसके, तर, प्रसाईंको नाम आएन ।

आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट फन्किएर बाहिरिए । बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यस्तै हुन्छ । त्यसैले चुनाव गरौ चुनाव गरौ भनेको ।’

प्रतिक्रिया