नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै गृहनगरमा उभिएर गम्भीर आरोपहरु लगाएका छन्। पार्टीको बन्दसत्रमा भाषण गर्दै ओलीले दाहालका बिरुद्ध गम्भीर आरोपहरु लगाएका हुन्।
झन्डै दुई घण्टा भाषण गरेका ओलीले माओवादी केन्द्र अध्यक्ष दाहाललाई माओवादी लडाकू शिविरको अरबौं रुपियाँ भ्रस्टाचार गरेर परिवार र आफन्तलाई पोस्ने काम गरेको गम्भीर आरोप लगाए। त्यति मात्र होइन उनले शहीद तथा बेपत्ता परिवारको समस्या समाधान गर्न दाहाल नै अनिच्छुक रहेको आक्षेप लगाए। उनले आफु र आफ्नो पार्टी सरकारमा हुँदा शहीद तथा बेपत्ता बारेको छानबिन आयोग निर्माण एबम सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने बारेमा काम नै नगरेको बताए।
आगामी महिनादेखि आफ्नो पार्टीमा पार्टी प्रबेश गर्नेको लहर नै चल्ने दाबी गरेका ओलीले त्यस लहरमा सहीद तथा बेपत्ता र घाइते परिवारहरु पनि हुने जानकारी दिए। साथै उनले सहीद तथा बेपत्ता र घाइते परिवारहरुको उचित ब्यबस्थापन आगामी एमालॆ सरकारले गर्ने आश्वाशन दिए।
आफ्नो भाषणको अन्त्यमा आफुलाई अध्यक्षको रुपमा बिश्वास गर्न बन्दसत्रमा उपस्थित प्रतिनिधिहरुलाई आव्हान गरेका ओलीले बिरोधीहरुसंग प्रतिष्पर्धा गर्न र पार्टीमा सहमति र सहकार्य गर्दै अघि बढ्न आव्हान गरे। पार्टीले अंगीकार गर्न खोजेको भनिएको सर्वसम्मत नेतृत्व चयनको प्रयासलाई चुनौती दिंदै विभिन्न पदमा उम्मेद्वारी घोषणा गैर्रहेका भिम रावल लगायातका नेताहरु प्रति संकेत गर्दै उनले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीति भएको बताए । त्यसको कार्यान्वयन दशौं महाधिवेशनबाट गर्न चाहेको भन्दै उनले आफूलाई सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।
एकतावद्ध पार्टी अहिलेको आवश्यकता भएको भन्दै ओलीले नेताहरुलाई फेरि पनि पालो आउने भन्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे । उनले संघर्ष, बलिदान र अनुभवबाट खारिएर आएकाहरुले काँचो व्यवहार देखाउन नहुने बताए । ‘अब पनि हाम्रा व्यवहार सामूहिकतातर्फ उन्मुख भएन भने हामीले सफलता प्राप्त गर्न सकौंला ?,’ उनले सहभागीहरुलाई प्रश्न गरेका छन् ।
एमाले अध्यक्ष ओलीले दशौं महाधिवेशनबाट नेपालका लागि मात्र होइन, दुनियाँका लागि नमुनाको दृष्टान्त दिनुपर्ने बताए । पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च साझेदारी, व्यापक सहमति, सुदृढ एकता पार्टीको नीति रहेको भन्दै उनले भने, ‘यस नीतिको कार्यान्वयन यही महाधिवेशनबाट गर्ने छौं । अध्यक्षको हैसियतमा मलाई सहयोग गर्न र त्यसअनुसार उच्च समझदारी गर्न आग्रह गर्दछु ।’