नेकपा एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले पदाधिकारी थप्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव केवल आफूलाई सर्वसम्मत अध्यक्षका रूपमा उभ्याउने रणनीति भएको निष्कर्ष निकालेका छन्।
विधान महाधिवेशनमा आफूहरूले गरेको पदाधिकारी थप्ने प्रस्ताव अस्वीकार गरेकोमा अहिले आएर महाधिवेशनको सुरू भएपछि पदाधिकारी थप्ने निर्णय गरेर ओलीले आफु सर्वसम्मत अध्यक्षका रूपमा उभ्याउने रणनीति भएको उनीहरुको निष्कर्ष छ।रावल र भुसालले उम्मेदवारी घोषणा गरेका बाहेकका पदमा आफूहरू सर्वसम्मत हुन नसक्ने बताएका छन्।
एमालेको गएराति बसेको केन्द्रीय समिति बैठकले २ उपाध्यक्ष थपेर ७ पुर्याउने र २ उपमहासचिव पद थप गरेर ३ पुर्याउने निर्णय गरेको थियो। यो सँगै एमालेमा पदाधिकारी संख्या १९ पुगेको छ। त्यस्तै केन्द्रीय सदस्यको संख्या २२५ बाट बढाएर ३०१ पुर्याउने निर्णय गरेको थियो। त्यस्तै ९९ सय सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको थियो। आकांक्षी व्यवस्थापन गर्न अध्यक्ष ओलीले पदाधिकारी बढाउन प्रस्ताव गरेका थिए। आज बिहानैबाटै ओलीले सर्वसम्मतिमा नेतृत्व चयनका लागि नेताहरूसँग कुराकानी अघि बढाएका छन्।
ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलसँग भने कुराकानी गरेका छैनन्। रावल चुनावको पक्षमा छन्। त्यस्तै भुसाल पनि चुनावकै पक्षमा उभिएका छन्। एमालेको दशौं महाधिवेशनको बन्दसत्र सौराहामा सुरू भएको छ। बन्द सत्र समाप्त भएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ।