सर्वसम्मत नेतृत्व चयन गर्ने आफ्नो प्रयासलाई आफु निकट नेताहरुले नै असहयोग गरेपछि पनि अध्यक्ष के पी शर्मा ओली अझै सर्वसम्मतको प्रयास जारी राखेका छन्। उनले शनिबार सौराहमा बन्दशत्र सुरु गर्नुअघि एमाले अध्यक्ष ओलीले आफ्ना निकट नेताहरु महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरु सँग छलफल पनि गरे .
समाचार स्रोतले दिएको जानकारी अनुसार, छलफलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका संसदीय दलका उपनेता सुबाश चन्द्र नेम्बाङ्लाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। तर
नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएको बताइएको छ । ‘हिजो तपाईंका लागि त्यति योगदान गरियो । पार्टीमा सहयोग गरियो अब मलाई सहयोग गर्नुस् भनेर नेम्वाङले अध्यक्षलाई भेटेर फर्किनुभएको छ,’ ती नेताले भने ।
पार्टी नेतृत्वलाई एकताबद्ध बनाएर लैजानका लागि कसलाई के पदमा ल्याउने भन्नेबारे प्रस्ताव बन्दसत्रको हलमा राख्न पनि नेम्वाङले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ । ओलीले भने त्यसको कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
ओली निकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेको बताइएको छ । ईश्वर पोखरेललगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दियो । ‘नेम्वाङलाई ‘तपाईं राष्ट्रपति हुने मान्छे हो । राष्ट्रपति हुने मान्छेले कार्यकारिणीमा किन लड्नुहुन्छ । पार्टीमा बसेर राष्ट्रपतिको तयारी गर्नुपर्छ’ भन्नुभएको रहेछ,’ नेम्वाङ निकट स्रोतले भन्यो ।
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाएको बताइएको छ । तर, नेम्वाङलगायतका नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि पोखरेल र ओली अप्ठ्यारोमा परेका छन् ।
अध्यक्षमा भने ओलीविरुद्ध उपाध्यक्ष भीमबहादुर रावलले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यस्तै, महासचिव पदमा ओली निकट मानिएका विष्णु पौडेल र शंकर पोखरेलका साथै सुरेन्द्र पाण्डेले पनि दाबी गरिरहेका छन् । यद्यपि अझै पदाधिकारीमा सहमति जुटेको छैन । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङको दाबी छ भने महासचिवमा शंकर पोखरेल र विष्णु पौडेल छन् ।उपाध्यक्ष र सचिवका आकांक्षी पनि धेरै भएकाले पदाधिकारी संख्या १९ पुर्याउँदा पनि सहमति जुटाउन सकस भइरहेको एक नेताले बताए ।
अब सबैको अनिवार्य स्क्रिनिङ गरेर मात्र फेरि भित्र पस्न पाउने भएका छन् । भित्र प्रवेश गरिसकेका प्रतिनिधिहरु पुन: एकपटक बाहिर निस्केर लामबद्ध बनेका छन् । यसले बन्द सत्र थप पर धकेलिने देखिएको छ ।