नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमालेको दसौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । पार्टीको पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले एमालेको दसौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका हुन्। उनले अघि भने ‘हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ। ”
एमालेको महाधिवशेनलाई ‘तथाकथित’ भन्दै दाहालले चितवनमा जारी दसौं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको आरोप लगाए।
पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्ने कुरामा जोड दिदै दाहालले राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने दाहालको भनाइ थियो । ‘तथाकथित महाधिवेशन भइरहेका छन् । ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दैछौं,’ उनले भने ।
अध्यक्ष पुष्पकमल दाहालले माओवादी अरू पार्टी जस्तो नभएको बताए । माओवादीको विगत र विरासत दुवै क्रान्तिकारी रहेको दाबी गर्दै उनले अघि थपे, “‘माओवादी त्याग, तपस्या, वीरता र बलिदानले भरिएको छ । क्रान्तिकारी सामाजिक रूपान्तरण गर्दै समाजवादमा जाने अभिस्ट छ,’ प्रचण्डले भने, ‘यो बीचमा क्रान्तिकारी सक्रिय हुनुपर्ने हो । जति सक्रिय र व्यवस्थित हुनु पर्ने हो । भएन । अब हुनुपर्नेछ ।’
सम्बोधनका क्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए । ‘सबैभन्दा पहिलो विचार विकास र परिमार्जन गर्नु जरुरी छ । अब समाजवादी क्रान्तिको मोडल आर्थिक, सामाजिक, सांस्कृतिक पार्टी संगठन र कार्यशैली विकसित गर्नुपर्छ,’ प्रचण्डले भने, ‘यसबाट मात्रै क्रान्तिकारी स्पिरिटमा पुनः उठाउन सकिन्छ ।’
उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए । प्रतिनिधिसभालाई दुई दुई पटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको दाहालले दाबी गरे ।