नेतालाई भाग पुर्‍याउन एमालेले बढायो केन्द्रीय कमिटीको आकार, पदाधिकारी १९ जना

नेतालाई भाग पुर्‍याउन एमालेले बढायो केन्द्रीय कमिटीको आकार, पदाधिकारी १९ जना


  • जन संचार
  • शनिबार, ११ मंसिर २०७८
  • 2.3K
    Shares

विधान महाधिवेशनकाे निर्णय लत्याउँदै  एमालेले केन्द्रीय सदस्य र पदाधिकारी संख्य थप गरेको छ।

नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले शुक्रबार राति दुई महिनाअघि विधान महाधिवेशनले पारित गरेको केन्द्रीय सदस्य र पदाधिकारीको सङ्ख्यामा उल्लेख वृद्धि गरेको हो।

शुक्रबार एमालेको दशौँ महाधिवेशन सुरु भएको छ। राति ८ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक ११ बजेपछि सुरु भएको थियो।

केन्द्रीय सदस्य शान्ता चौधरीका अनुसार बैठकमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय सदस्यको सङ्ख्या ३०१, पदाधिकारी १९ र पोलिटब्युरो थप्न प्रस्ताव पेस गरेका थिए।

पार्टीभित्र अनौपचारिक छलफलपछि पेश गरिएको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पारित गरेको छ।

उक्त प्रस्तावलाई शनिबारदेखि सुरु हुने बन्द सत्रले अनुमोदन गरेपछि नेतृत्व चयन हुनेछ।

यसअघि विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारीसहित एमाले केन्द्रीय कमिटीको आकार २२५ सदस्यीय बनाएको थियो।

केन्द्रीय कमिटीले पेश गरेको नयाँ प्रस्तावअनुसार पदाधिकारीमा एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्।

असोजमा पारित विधानमा वरिष्ठ सहित पाँच उपाध्यक्ष, सचिव सात र उपमहासचिव एकजना सहित १५ सदस्यीय पदाधिकारी बनाइएको थियो।

त्यस्तै हटाइएको पोलिटब्युरोलाई पुनः स्थापित गर्दै केन्द्रीय सदस्यको एक तिहाइ अर्थात ९९ जना हुने प्रस्ताव पारित गरेको छ।

नेतृत्व चयनमा सकस परेपछि सर्वसम्मत बनाउन तथा सबैको भाग पुर्‍याउन पदाधिकारी र केन्द्रीय सदस्य सङ्ख्या थपिएको एक नेताले जानकारी दिए।

अब केन्द्रीय सदस्यमा मात्रै चुनाव हुने स्थायी कमिटीका एक सदस्यले जानकारी दिए।

प्रतिक्रिया