नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् । एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए ।
अध्यक्ष ओलीले भने–‘अहिलेको सरकारबारे म केही भन्न चाहन्न । उहाँलाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्न वाञ्छनीय हुँदैन । प्रधानमन्त्री ज्यू सायद काम गर्न चाहनुहुन्थ्यो कि ? तर प्रधानमन्त्री ज्यूलाई काम गर्न गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरूले आज उहाँका खुट्टा समातिरहेका छन् । त्यस कारण उहाँलाई पनि गाह्रो छ कि ?’
उनले हसियाँ–हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिण पन्थी सरकार बनाएको भन्दै उनीहरुलाई हँसिया हथौडा फ्याँक्न सुझाव दिए । उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेको सरकारले विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी कामलाई पूरा गर्ने दाबी गरे । उनले अब लगातार पार्टी प्रवेश कार्यक्रम चल्ने पनि बताए । फागुनसम्म एमालेले निरन्तर प्रवेश कार्यक्रम देशभरि चलाउने उनको भनाइ थियो ।
उनले एमालेले चुनाव चिह्न बनाएको सूर्यको व्याख्या गायन्त्री मन्त्रमा भएको भन्दै गायत्री मन्त्रमा सूर्यको चर्चा गरिएझैं देश विकासका लागि एमालेको चर्चा हुने गरेको बताए । उनले भने, ‘नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झण्डा बोकेका छौं । देश, जनता, लोकतन्त्र, विकास, सामाजिक न्याय र समानताका लागि सूर्य चिन्ह समर्पित छ ।’
एमाले अध्यक्ष ओलीले अबको चुनावमा एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको बताए । अध्यक्ष ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । उनले भनेका छन्, ‘अब हामी चुनावको तयारीतर्फ जानेछौं । एकल बहुमत ल््याउने छौं ।’
अध्यक्ष ओलीले एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलनदेखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्टी भएको बताए ।
उनले भनेका छन् , ‘आजका समस्याहरू ठीक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी हो यो । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो ।’
त्यस्तै उनले उग्र वामपन्थ नभई व्यवहारिक रूपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिने र सम्भव हुने व्यवहारिक कार्यान्वयन गर्ने पार्टीको रूपमा रहेको एमाले रहेको बताए ।