एमाले महाधिवेशन : उद्घाटन सत्रमा देउबा जाने, प्रचण्ड नजाने, कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित

एमाले महाधिवेशन : उद्घाटन सत्रमा देउबा जाने, प्रचण्ड नजाने, कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित


  • जन संचार
  • बिहिबार, ९ मंसिर २०७८
  • 4.1K
    Shares

चितवनमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशनको तयारी सकिएको नेकपा एमालेले जनाएको छ। एमाले  सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन उद्घातानाको तयारी पुरा भएको जानकारी दिए।

एमाले सचिब भट्टराइले भोलि दिउँसो नारायणी नदी किनारमा हुने महाधिबेशन उद्घाटन समारोहमा  पांच लाख जनताको सहभागिता रहने जानकारी दिए।  उनले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गरे ।

एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।  प्रचार विभाग प्रमुख भट्टराईले  महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा ठूलठूला डिजिटल बोर्ड राखेर कार्यक्रमको लाइभ देखाइने जानकारी दिए।

एमाले उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालेले जनाएको छ । उनीहरुलाई उदघाटन सत्र र सडकमा परिचालन गरिने भट्टराइको भनाइ छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।  चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए  ।

महाधिवेशनमा दुई हजार एकसय ७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । भोलि शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्नुहुनेछ । मंसिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दावी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

एमालेले महाधिवशेन पछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ । त्यस्तै, एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन जाने छन्।  तर आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला चितवनमा नै आयोजना हुन् लागेको नेकपा एमालेको महाधिबेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी नहुने बताइएको छ। जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा आउने एमाले प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्ता दिएको थियो  ।

 मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् ।

चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो ।

नेपाली कांग्रेसको जिल्ला अधिबेशन स्थगित 

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । नेपाली कांग्रेस चितवनको बैठकले सर्वसम्मतबाट भोलि शुक्रबार र पर्सि शनिबारका लागि तोकिएको जिल्ला अधिबेशन स्थगित गरेको हो ।

प्रदेश अधिवेशन पछि गर्ने गरी सार्न निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिबेशन स्थगन गरेको कांग्रेस चितवनले जनाएको छ ।

भोलि १० गते नेकपा एमालेको केन्द्रीय अधिवेशनको उद्घाटन नारायणगढमा हुने हुदा स्थानीय प्रशासनले बिहान १० देखि ३ बजेसम्म नगरमा यातायात प्रवेशमा रोक लगाएका कारणले उम्मेदवारले मनोनय दाखिला गर्न समस्या हुने भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जनाएको छ । पहिलो चरणमा निर्वाचन नसकिने सभ्भावना भएको समय बढ्न सक्ने देखिएकाले आवासमा समस्या रहेको कांग्रेसको निष्कर्ष छ ।

प्रतिक्रिया