ठुलो तामझामका साथ सिलान्याश गरिएको म्याग्दीको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना सिलान्यासमा सिमित भएको छ। तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले २०७५ पुस ३ गते सिलान्यास गरेको २५ मेगावाट क्षमताको त्यस आयोजना सिलान्यासमा सिमित भएको हो ।
अनुमानित ५ अर्ब १५ करोड रुपैयाँ लागतमा निजी क्षेत्रले बनाउने भनिएको उक्त आयोजनाको काम अझी सुरु भएको छैन । उक्त आयोजना थियो । आयोजना निर्माणका लागि सर्वसाधारणबाट अग्रिम सेयर संकलन गरिए पनि मुख्य प्रवर्द्धक रहेको धौलागिरि कालिका हाइड्रो लिमिटेड शिलान्यासपछि कार्यस्थलमा देखिएको छैन ।

प्रवासमा रहेका जिल्लावासीबाट म्याग्दी इन्भेस्टमेन्ट र ग्लोबल फ्रेन्डसिप क्यापिटलका नाममा ठूलो रकम संकलन गरिएको थियो । निर्माता धौलागिरि कालिका हाइड्रोले अन्य जिल्लावासीबाट संकलन गरेको संस्थापक सेयर कम्तीमा ५ वर्षदेखि फसेको छ । ‘प्रवासी म्याग्देलीको मुख्य लगानीमा बन्न लागेको आयोजनाको काम भएको छैन । लगानीकर्ता पनि स्थानीय नै भएकाले ताकेता गरेका छौं,’ म्याग्दी प्रवासी नेपाली संघ (मोना) का पूर्वअध्यक्ष रहेका ओमनारायण जुग्जालीले भने, ‘मोनाकै अगुवाइमा प्रवासीबाट रकम संकलन गरिएकाले आयोजना बन्ने/नबन्ने कुराले संस्थाको इज्जत पनि जोडिएको छ ।’

आयोजना अध्यक्ष विनोद कुँवरसँग सम्पर्क हुन सकेन भने आयोजनाको फिल्ड र सम्पर्क कार्यालय पनि लामो समयदेखि बन्द छन् । बेनीबाट २४ किलोमिटर पश्चिम मालिका–५ र ७ विम तथा धौलागिरि–७ धारापानीको फेदीमा बाँध निर्माण गरी ५ किमि लामो सुरुङबाट म्याग्दीखोलाको पानी ल्याई एक सय मिटर अग्लो हेडबाट पानी खसाली मालिका–६ दुःखुबेंसीमा पावरहाउस बनाउने प्रस्ताव छ ।
मालिका गाउँपालिका–७ बिम , वडा नम्बर ५ देविस्थान र धौलागिरि गाउँपालिका–७को सिमा क्षेत्रमा रहेको फेदीमा आयोजनाको बाँध रहने बताइएको थियो । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण हुने आयोजनामा सानिमाको बैँकको अगुवाईमा प्रभु सहित अन्य ५ वटा वित्तिय संस्थासंग वित्तिय व्यवस्थापनको लागि सम्झौता भैसकेको त्यतिबेला स्थानीय बासिन्दालाई जानकारी दिएको थियो।
आयोजनाबाट उत्पादन हुने विद्युतलाई २९ किलोमिटर लामो दाना सबस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीने र हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री गर्ने सम्झौता भएको पनि दाबी गरिएको थियो । दरबाङको छेरछेरमा साईट कार्यालय स्थापना गरेको आयोजनाले आयोजना निर्माणको लागि विद्युतगृह रहने रातोढुंगामा १६ रोपनी जग्गा अधिकरण गरेको थियो।