म्याग्दीको मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र, पूर्वाधार अभावमा सेवा प्रभावित

म्याग्दीको मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र, पूर्वाधार अभावमा सेवा प्रभावित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 6.4K
    Shares

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकी भवन अलपत्र परेको हो ।

१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको स्थानीयवासी भीम छन्त्यालले बताए ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट १८ महिनाभित्र सम्पन्न गर्ने गरी विसं २०७४ मा रु एक करोड ७४ लाखमा ठेक्का सम्झौतामार्फत  भवन निर्माण गर्न वोल्ड वाइड मालीका भगवती जेभीले ठेक्का लिएको थियो। अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि श्यया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्ष निर्माण हुने भनिएको थियो। अझै भवन छाउने, रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम बाँकी छ ।

अहिले निर्माणाधीन भवन जीर्ण बन्दै गएको छ। समयमै भवन नबन्दा स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ । गत वैशाख महिनादेखि निर्माण व्यवसायीले काम गरेका छैनन् । मौखिक रुपमा पटकपटक ताकेता गरिएको भएपनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीर्ण र पुरानो हुँदै गएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिइन् ।  “पूर्वाधार अभावमा स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको छ,” वडाध्यक्ष खर्ककुमारी छन्त्यालले भनिन, “पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्य चौकी सञ्चालन गर्न समस्या भएको हो ।”

स्वास्थ्य चौकीका अहेब लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताए । कच्ची भवन, साँघुरा कोठा त्यसमा पनि बर्खामा पानी चुहिदा स्वास्थ्यकर्मीलाई अप्ठ्यारो महशुश हुने गरेको छ।  प्रसूति गराउने, बिरामीको स्वास्थ्य परीक्षण र घाउ, चोटपटक सफा गर्ने ठाउँ साँघुरो छ । सिङ्गो स्वास्थ्य चौकी तीन वटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको अहेब गौतमले बताए ।

एउटा कोठामा प्रशासन र बिरामीको उपचार गर्ने कक्ष राखिएको छ । एउटामा औषधि भण्डारण र अर्कोमा प्रसूति कक्ष राखिएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । यस स्वास्थ्य चौकीका दैनिक १० जनाको अनुपातमा सेवाग्राही आउने गर्छन् । विभिन्न तहका ६ जनाको दरबन्दी भएको स्वास्थ्य चौकीमा हाल कार्यरत तीनमध्ये एक जना मासिका बाहेक अरु दुई जना करारका हुन् । समाचारस्रोत myagdionline.com 

प्रतिक्रिया