गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचिन त्रिवेणी कोरोला जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताएका छन् । नवलपुर जिल्लका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले त्रिवेणी कोरोला जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले त्रिवेणी कोरोला जोड्ने सडक निर्माणका लागि दुम्कीबासदेखि त्रिवेणी खण्डमा अवरोध भएकोमा चिन्ता प्रकट गर्दै यसको समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे। चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको ८ किलोमिटर पर्छ । उनले भने, ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रियामा लान प¥यो, निकुञ्जबाट त्यो क्षेत्र छुट्टिने बित्तिकै हामी काम थाल्छौँ, यो केन्द्र सरकारलाई भनेका छौँ, हिजोका मुख्यमन्त्रीले पनि भन्नुभएकै हो ।’
युनेस्को भनेर रोकियो भने सधैँ यसै बसिरहन नसकिने भन्दै उनले विकल्पमा सुरुङमार्ग समेत निर्माण गर्न सकिने भनाए राखे । सुरुङमार्गका लागि १८ देखि २० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिए र संघ सरकारको समेत सहयोग लिएर काम गर्न सकिने भनाइ राखे । सुरुङ नभए फ्लाइ ओभर समेत निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । यसका लागि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौखिक एवं लिखित रुपमा जानकारी समेत गराइसकेका छन् ।