सुदूरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री शाहको कुलदेवताको मन्दिरका लागि एक करोड बजेट विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री शाहको कुलदेवताको मन्दिरका लागि एक करोड बजेट विनियोजन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ असार २०७८
  • 3.8K
    Shares

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा पनि बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा एक करोड बजेट विनियोजन गरेको छ ।

शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।

मन्त्री शाहको कुल देवतासमेत रहेको ज्यूलेख मन्दिरमा चुनावका बेलासमेत उनले पूजापाठ गरेका थिए । मन्त्री शाह मात्र नभएर प्रदेशका नौवटै जिल्लामा यसरी नै समुदाय विशेषका मन्दिरमा करोडौं बजेट विनियोजन गरिएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारले वर्षेनी मन्दिरहरुमा समेत बजेट विनियोजन गर्दै आएको बताए । उनले अहिले अघिल्ला वर्षको जस्तो मन्दिर निर्माण मात्र नभएर त्यहाँसम्म पर्यटकलाई पुर्‍याउन पदमार्ग, प्रवेशद्वार जस्ता विषयलाई प्राथमिकता दिइएको दाबी गरे।

प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा दुई सय ७० मन्दिरका लागि २४ करोड बढी बजेट मन्दिरमा विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि भने विगतभन्दा कम १९ करोड छुट्याएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बताए।

विगतमा चर्को विरोध भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले स–साना मन्दिरमा बजेट नहाल्ने घोषणा गरेका थिए। तर ५ लाखदेखि ५० एक करोडसम्म मन्दिर निर्माणका लागि बजेट छुट्याइएको हो।

५ लाख बजेटले कुनै पनि मन्दिरलाई मौलिक शैलीमा विकास गर्न नसकिने भए पनि कार्यकर्ता रिझाउन बजेट कनिका छरेजस्तै विनियोजन हुँदै आएको छ। सुदूरपश्चिम धार्मिक पर्यटनका दृष्टिकोणले पनि निकै सम्भावना बोकेको प्रदेश हो।

यहाँ खप्तडधाम, सिद्धनाथ–बैधनाथ धाम, बडिमालिका, परशुराम, मालिकार्जुन, डिलाशैनी, उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, मेलौली, बेहडाबाबाजस्ता धार्मिक गन्तव्य छन्। ती धार्मिक क्षेत्रमा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा पर्यटन प्रवर्द्धनमा समस्या भइरहेको छ।

तर, निश्चित जाति र समुदायका कूल देवताका मन्दिरमा बजेट विनियोजन गर्दै प्रदेश सरकार पर्यटनबाटै समृद्ध प्रदेश बनाउने सपना बुनिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार