प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका आठसय ४९ वटा सीमास्तम्भ हराए

प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका आठसय ४९ वटा सीमास्तम्भ हराए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ असार २०७८
  • 7.3K
    Shares

नेपाल भारत सीमामा रहेका जंगे पिलर

प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका आठसय ४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म चारसय ६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये आठसय ४९ वटा हराएका हुन् ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार , प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेको, सातसय चार  वटा मर्मत गर्नुपर्ने, तीनसय १९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र आठ सय ४९ सीमास्तम्भ हराएकाले दशगजामा समस्या देखिएको छ ।

प्रदेश २ को आठ जिल्लाामध्ये कतिपय जिल्लामा सीमावर्ती दशगजा क्षेत्र मिचेर भारतीय नागरिकहरूले खेतीपाती गरेका, घर टहरा बनाएर गाईगोठ बनाएका र बसोबास गरिरहेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए।

सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन् । माडरस्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ ।

सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन् । बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ ।

सीमापारि रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले यसप्रति उदासीनता देखाएको र उनीहरुले नै नेपाली भूमि अतिक्रमण गरेको बरियापट्टीका स्थानीयवासीको आरोप छ ।

यसैगरी धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा समेत भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको छ । यसरी प्रदेश २ को आठ जिल्लाअन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी गाउँसम्म ४६४ किलोमिटंर सीमा क्षेत्रलाई छुट्याइएको सीमास्तम्भमध्ये ८४९ सीमास्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको स्थानीयवासी बताउँछन । सिरहा र धनुषामा मात्र होइन यो समस्या प्रदेश २ को आठ जिल्लामै रहेको देखिन्छ ।

स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल भारतबीच देखिएको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने जानकारहरुको भनाइ छ । ‘जिपिएस सिस्टम’बाट कहाँ कहाँ सीमास्तम्भ छन् भन्नेबारे वैज्ञानिक सीमाङ्कन हुनुपर्ने सीमाक्षेत्रका बासिन्दाको माग छ । (स्थलगत रिपोर्टका आधारमा राससको समाचार

प्रतिक्रिया