तटबन्धका लागि बजेट बिनियोजन गरिदिने आश्वासन दिएर डोटीको शिखर नगरपालिका-११ का जगन्नाथ बलायरबाट लिएको रकम मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम बहादुर कुवँर प्रख्यातले फिर्ता गरेका छन् ।
रकम फिर्ता पाएपछि बलायरले मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रख्यातका बिरुद्ध फेसबुकमा लेखेको स्टाटस पनि हटाएका छन् । बलायरलाई फेसबुक स्टाटस हटाउन कुवँर र माओवादी नेतृत्वले दवाव समेत दिएको थियो ।
बलायरले आफूसंग शिखरनगरपालिकाको वडा नम्बर ११ को खोलामा तटबन्धको २० लाखको योजना पारिदिने भन्दै मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रख्यातले एक लाख ३० हजार रुपैया लिएको बताएका थिए । वडा नम्बर ११ का माओवादी केन्द्रका अध्यक्ष रमेश जोशी सैपालले समेत आफूसंग रकम लिएको उनको आरोप थियो । तर एक लाख ३० हजार रुपैया कमिसन लिएर तटबन्धमा ५ लाख रुपैया मात्र बिनियोजन गरिएको भन्दै बलायरले फेसबुक मार्फत आक्रोश पोखेका थिए ।
उनले प्रख्यातले अन्य योजनाहरुमा पनि कमिसन लिएको आरोप लगाएका थिए । आफूले दिएको रकम फिर्ता नपाए अन्य योजनाबाट लिएको रकमका बारेमा समेत खुलासा गरिदिने बलायरले चेतावनी दिएका थिए । उता प्रख्यातले भने आफूले योजना पारीदिन्छु भनेर कमिसन नलिएको र रकम पनि फिर्ता नगरेको बताए ।
यद्दपि प्रख्यातले मुख्यमन्त्री कार्यालयको आन्तरिक छलफलमा आफूले कमिसन नलिएको तर सापटी लिएको भने स्वीकार गरेको मुख्यमन्त्री कार्यालय सम्बद्ध विश्वस्त स्रोतले बताएको छ ।

मुख्यमन्त्री कार्यालयबाटै योजनाका लागि कमिसन लिने गरेको आरोप
सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउदा मुख्यमन्त्री कार्यालयबाट कमिसन लिने गरेको खुलासा भएको छ । डोटीको शिखर नगरपालिकाका जगन्नाथ बलायरले शिखरनगरपालिकाको वडा ११ बोगरा खोलामा तटबन्धका लागि योजना माग गर्दा मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव प्रेम कुवँर प्रख्यातले ५० हजार र शिखर नगरपालिका वडा नम्बर ११ का माओवादी केन्द्रका अध्यक्ष रमेश जोशी सैपालले ३० हजार रुपैया कमिसन लिएको आरोप लगाएका छन् ।
बलायरले अहिलेसम्म तटबन्धका लागि एक लाख ५० हजार रकम खर्च भईसको बताए ।नदीको कटान रोक्न र खेत जोगाउनका लागि तटबन्धका लागि मुख्यमन्त्री कार्यालयसंग हार गुहार गर्यौ, बलायरले भने, १५-२० लाखको योजना बजेटमा समाबेश गरिदिने र त्यसका लागि मुख्यमन्त्रीसम्म कमिसन दिनु पर्ने भन्दै स्वकिय सचिव प्रख्यातले रकम माग गरे । खेती योग्य जमिन जोगाउन हामीसंग अरु कुनै उपाय थिएन ।
२० लाखको योजना आउने भनेपछि हामी पनि ढुक्क भयौ । र रकम दियौ । तर न बजेटमा योजना समावेश भयो । न त कमिसनको रकम नै मुख्यमन्त्रीका स्वकीय सचिव र माओवादी नेताले फिर्ता गरे । उनले आफुले खर्च गरेको सम्पुर्ण रकम फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
बलायरले सामाजिक सञ्जालमै तटबन्धको योजनाका लागि मुख्यमन्त्रीका स्वकिय सचिव प्रख्यात र माओवादी नेता सैपालले कमिसन लिएको आरोप लगाएका छन् ।
उनले अन्य थुप्रै योजनामा समेत मुख्यमन्त्री कार्यालयबाट कमिसन लिएको आरोप लगाउदै आवश्यक परे ती योजनाको कमिसनका बारेमा पनि पोल खोल्ने चेतावनी दिएका छन् ।
पश्चिम टुडेबाट साभार
https://paschimtoday.com/