नेपाल र चीनबीच १० बुदे सम्झौता, भारतसँगको निर्भरता अन्त्य

नेपाल र चीनबीच १० बुदे सम्झौता, भारतसँगको निर्भरता अन्त्य


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ चैत्र २०७२
  • 14.4K
    Shares

नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौताका विभिन्न बुँदामा आज हस्ताक्षर भएको हो ।
यस्तै आजै भएको पारवहन सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । पारवहन सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा थियो । नेपाललाई चिनियाँ बन्दरगाहसम पहुँच दिने यो सम्झौतालाई विशेष महत्वका साथ हेरिएको छ । यस्तै पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् । यस्तै हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी भएको अर्को सम्झौतामा पनि अर्थमन्त्रीले हस्ताक्षर गरेका छन् । यस्तै चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ। अब नेपालले चीनको कुनै पनि भूभागमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ ।
त्यसैगरी चीनले पनि नेपालमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता समेत अन्त्य भएको छ । नेपालले यसअघि भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । तर, संविधान जारी भएपछि नाकाबन्दीका क्रममा उसले तेस्रो मुलुकबाट हुने आयात समेत रोकेको थियो । 
सोमबार राति बेइजिङबाट प्राप्त समाचार अनुसार आम नेपालीले चाहेको इन्धन सम्झौता पनि प्रधानमन्त्री ओलीकै भ्रमणका बेला हुने निश्चित भएको छ । बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार रेल विस्तार र इन्धन आयातबारे सोमबारै सैद्धान्तिक सहमति भएको छ । नेपालबाट प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लि खछ्याङबीच रेल विस्तार र इन्धन आयातबारे सैद्धान्तिक सहमति भएको हो । यो विषयमा बुधबार सम्झौता हुने र संयुक्त विज्ञप्ति जारी गर्ने तयारी छ ।
‘आज भएको सम्झौतामा पेट्रोलियम सम्झौतामा नेपालले चीनबाट इन्धन आयात गर्नेबारे तथा नेपालसम्म रेलवे सेवा विस्तार गर्नेबारे सैद्धान्तिक सहमति भएको छ । यससम्बन्धी विस्तृत विवरण दुई देशबीच जारी हुने संयुक्त विज्ञप्तिमा उल्लेख हुनेछ । संयुक्त विज्ञप्ति पर्सी बुधबार जारी हुनेछ,’ बेइजिङबाट प्रमका प्रेस सल्लाहकार दाहालले भने । भारतले पाँच महिना लामो नाकाबन्दी गरेपछि इन्धन आयातको विकल्प खोज्दै नेपालले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाएको थियो । जसले ओलीकै भ्रमणका क्रममा मूर्तता पाउने निश्चित भएको हो ।
नेपालले भारतबाट आयात हुने इन्धनको कम्तिमा ३० प्रतिशत इन्धन चीनबाट ल्याउने गरि दुई देशबीच सम्झौता हुन लागेको बताइएको छ । यसअघि आजै नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको छ । जसमा पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् ।

प्रतिक्रिया