प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाः पारवहन सम्झौतादेखि रेलवेसम्म

प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाः पारवहन सम्झौतादेखि रेलवेसम्म


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ चैत्र २०७२
  • 11.5K
    Shares

दक्षिण छिमेकी मुलुक भारत गएको ठीक एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा निस्केका छन् । भारत भ्रमणमा सम्वन्ध सुधारलाई एक सुत्रीय एजेण्डा बनाएका प्रधानमन्त्री ओलीले उत्तरको यात्रामा भने विकास र व्यापारिक एजेण्डा बोकेर गएका छन् ।आठ दिने भ्रमणमा निस्कन लागेको प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा परराष्ट्र र अर्थसहित चारमन्त्री छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य दिन सोमबार हुनेछ । उनले सोमबार राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्नेछन् र त्यहाँ दुई देशबीच महत्वपूर्ण सम्झौताहरु हुनेछन् ।

के-के छन् नेपालका एजेण्डा ?

प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा नेपाल चीनबीच पारवहन सम्झौता हो ।

नेपालले अहिलेसम्म भारतसँग मात्र पारवहज सम्झौता गरेको छ । नेपालले कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट सामान आयात गर्ने गरेमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विशाखापटनम बन्दरगाह पनि प्रयोग गर्न दिने सम्झौता भयो ।

तर, भारतले नाकाबन्दीका क्रममा तेस्रो मुलुकबाट हुने आयातसमेत अवरुद्ध पारेकाले चीनसँगको यो सम्झौता दीर्घकालीनरुपमा निकै महत्वपूर्ण हुनेछ । र, भारतसँगको निर्भरता तोडिने छ । सम्झौताका लागि दुबैतर्फको गृहकार्य पूरा भइसकेको नेपाली अधिकारीहरुले बताएका छन् ।

नेपालको अर्को एजेण्डा रेलवे सम्वन्धी छ । चीनले केरुङसम्म ल्याउन लागेको रेललाई काठमाडौं हुँदै लुम्बिनीसम्म लैजाने योजना छ । र, चीन पनि यसका लागि निकै सकारात्मक देखिएको छ ।

चीनले २०२० सम्म सिगाप्सेसम्म रेल ट्रक बनाइसक्नेछ । प्रधानमन्त्रीको यो भ्रमणका क्रममा सिगाप्से-केरुङ-काठमाडौं र काठमाडौं-पोखरा-लुम्बिनी रेल वेको डीपीआर तयार र्पो सम्झौता हुनेछ । नेपालको रेल वे सेवा सुचारु गर्न यो सम्झौता महत्वपूर्ण हुने मानिएको छ ।

तेस्रो एजेण्डा उत्तर दक्षिण जोड्न रोड छ । किमाथाङका नाका खोल्ने र किमाथाङका-धनकुटा लिंक रोडका लागि नेपाल र चीनबीच यो भ्रमणका क्रममा सम्झौता हुने अपेक्षा गरिएको छ ।

यसबाहेक ट्रान्समिसन लाइन, हाइड्रो प्रोजेक्ट र चिनियाँ लगानीमा निर्माण भइरहेको पश्चिम सेती र चक्रपथ विस्तारलाई तीव्रता दिने पनि नेपालको एजेन्डामा परेको छ ।

इन्धनको न सम्झौता, न सहयोग

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच इन्धन सम्झौता हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।

तर, इन्धन सम्झौता भने नहुने भएको छ । भारतले नयाँ संविधानलाई लिएर नेपालमाथि नाकाबन्दी गरेपछि नेपालले चीनतर्फ हात बढाएको थियो । नेपालले कुल मागको ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने समझदारी समेत गरिसकेको छ । तर, सम्झौता भएको छैन ।

आगल नियमका अधिकारीहरु पटक-पटक चीन गएर प्राविधिक विषयमा छलफल गरिसकेका छन् भने परराष्ट्रमन्त्रीको भ्रमण पनि भयो । तर, प्रधानमन्त्रीको भ्रमणमा यो एजेन्डामा छैन ।

चीनले तत्कालका लागि १५ हजार मेटि्रक्टन इन्धन दिने प्रस्ताव गरेको छ । यसमा पनि सम्झौता नहुने सम्भावना छ । दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा नेपाल र चीनबीच इन्धनको व्यापारिक कारोबार गर्नेसम्म आउन सक्छ तर, सम्झौता हुने नहुने देखियो, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।तर, नेपालका तीन स्थानमा इन्धन भण्डारण स्थल बनाउने नेपालको प्रस्तावमा भने चीन सकारात्मक छ ।

प्रतिक्रिया