सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।
कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
सामाजिक विकास मन्त्रालयले पठाएकी एक जना नर्स बाहेक अन्यले काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । काममा फर्कनका लागि उनीहरुले सरकारले तोकेको न्यूनतम सुविधा पाउनुपर्ने माग राखेका छन् ।
कोभिडको पहिलो लहरमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले होटल स्टनस्टारमा क्वारेन्टाइन बनाएको थियो । दोस्रो लहरमा भने मन्त्रालयले घरबाटै आउन भनेको छ । घर नभएकाहरुलाई भने उपचार केन्द्र नजिकै रहेको पुराने घर छुट्याइएको छ । तर पुरानो घर व्यवस्थीत नभएको स्वास्थ्यकर्मीको गुनासो छ । स्वास्थ्यकर्मीलाई खाना पनि गुणस्तरयूक्त नदिएको उनीहरुले गुनासो छ ।
सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त पाएका डाक्टर नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ । कोरोना सङ्क्रमण घटेपछि एक महिना विदा बसेका उनीहरुले पून नियुक्ती पाएपछि काममा फर्किएका थिए । तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताए ।
एकसय ८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन् । उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र पाँच जना डाक्टर कार्यरत छन् ।