अस्पतालहरूमा कोरोनाभाइरसको नयाँ भेरियन्टबाट संक्रमित गम्भीरखाले बिरामीहरु बढ्न थालेको अवस्थामा सबैतिर फेरी सरकारले देशव्यापी लकडाउन गर्ने हो कि भनेर भय फैलिएको छ। तर परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नहुने जानकारी दिएका छन् ।
नेकपा एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सकिएपछि आइतबार पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री ज्ञवालीले त्यस्तो जानकारी दिएका हुन्। लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको बताउदै उनले अघि भने ‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो ।”
कोरोना संक्रमंबात आती प्रभावित मात्र लकडाउन हुन सक्ने संकेत गर्दै मन्त्री ज्ञवालीले, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । अहिले तत्काल हामी देशव्यापी लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’
कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा गम्भीरखाले संक्रमित बढ्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा अहिले ६१ जना आइसियूमा उपचाररत् छन्। जसमध्ये ४७ जनालाई भेन्टिलेटरमा राखिएको छ।
मन्त्रालयले शनिबार जारी गरेको आँकडाअनुसार अहिले उपत्यकामा मात्र झन्डै ६ सय संक्रमितको उपचार भइरहेको छ। नयाँ भेरियन्ट नेपालमा पनि भित्रिएपछि चैत यता उपत्यकाका अस्पतालहरूमा भर्ना हुने संक्रमित बढेका हुन्। चैत अगाडिसम्म अस्पतालमा छिटफुट संक्रमित रहेकोमा अहिले उपत्यकाका धेरैजसो अस्पतालमा संक्रमितको चाप बढेको छ।
सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन भेन्टिलेटरमा संक्रमित बढ्नु भनेको जटिल अवस्थातिर जानु रहेको बताउँछन्। डाक्टर पुनले भने, ‘आइसियूमा रहेकामध्ये दुई तिहाइभन्दा बढी संक्रमित भेन्टिलेटरमा रहनु भनेको जटिल अवस्था हो। भेन्टिलेटरमा गएपछि बाँच्ने सम्भावना नै क्षीण हुँदै जान्छ। जसले गर्दा मृत्युदर बढ्न जान्छ।’ उनले अहिलेको नयाँ भेरियन्ट पहिलेको भेरियन्टभन्दा घातक रहेको उल्लेख गर्दै अहिलेको संक्रमणको अवस्था उत्कर्षतिर लम्किरहेको बताए।
‘अघिल्लो लहरमा उत्कर्षमा पुगेको बेलाजस्तो अवस्था देखिएको थियो, त्यो अहिलेको दोस्रो लहरको सुरुवातमै देखिएको छ। यही अवस्था निरन्तर रहिरहे अझ समस्या देखिनसक्छ,’ डाक्टर पुनले भने।
अहिले संक्रमितको जुन तथ्यांक देखिएको छ त्यो पहिलेभन्दा कम परीक्षणमा देखिएको हो। अहिले दैनिक औसत १० हजार जनाको मात्र परीक्षण भइरहेको छ। पहिलो लहरको संक्रमण उत्कर्षमा पुगेको बेला दैनिक २० हजारसम्म परीक्षण गरिएको थियो। त्यो हिसाबले अहिलेको परीक्षणलाई दोब्बर बनाउने हो भने संक्रमितको संख्या बढ्नुका साथै जटिल अवस्थाका संक्रमित पनि बढ्न सक्छन्।
मन्त्रालयको तथ्यांकअनुसार टेकु अस्पतालमा सर्वाधिक १२ जना संक्रमित भेन्टिलेटरमा छन्। यसैगरी पाटनमा १०, सशस्त्र प्रहरी अस्पतालमा ८, नेपाल प्रहरी अस्पताल र टिचिङ अस्पतालमा ५-५, वीर र ग्रान्डी अस्पतालमा ३-३ र हाम्स अस्पतालमा एक जना छन्।