कास्कीका विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयको ठहर : पोखरा महानगरले शैक्षिक संस्था बन्द गर्न आबश्यक ठानेन

कास्कीका विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयको ठहर : पोखरा महानगरले शैक्षिक संस्था बन्द गर्न आबश्यक ठानेन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ बैशाख २०७८
  • 7K
    Shares

school , बिद्यालय ,janasanchar

पछिल्लोपल्ट पोखरामा एक दर्जन विद्यालयका ८९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लामा कास्कीलाई वर्गीकरण गरेको छ र कास्की जिल्लामा विद्यार्थीहरु उच्च जोखिममा रहेको बताएको छ।  तर पोखरा महानगरपालिकाले पोखरा महानगरभित्र रहेका शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको छ।

पोखरा महानगर शिक्षा समितिको आइतबार बसेको बैठकले  महानगरभित्र रहेका शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो। बैठकले अब कोरोना संक्रमणको जोखिम बहन गर्ने जिम्मेवारी शैक्षिक संस्था स्वयम्ले लिनु पर्ने बताएको छ। बैठकमा प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, नगरस्तरीय परीक्षा समिति लगायतका प्रतिनिधि सहभागी थिए ।

कोरोना संक्रमण फैलिन नदिन विद्यालयहरुलाई नै जिम्मेवार बनाएको पोखरा महानगर शिक्षा समिति बैठकले पोखरा महानगर भित्रका विद्यालयलाई वैशाखभित्रै आफ्ना वार्षिक परीक्षा सक्न भनेको छ। भौतिक अवस्था, स्वस्थ्य मापदण्डलाई ख्याल गर्दै विद्यालयले लिने वार्षिक परीक्षा वैशाखभित्रै लिनुपर्ने समितिले निर्णय गरेको हो । त्यति मात्र हैन, सो बैठकले जेठ ३ देखि ११ सम्म तोकिएको ८ कक्षाको नगरस्तरीय परीक्षाको मिति पनि हाललाई हेरफेर नगर्ने निर्णय भएको पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । ‘त्यतिबेलासम्मको परिस्थितिलाई आँकलन गरेपछि मात्रै सार्ने/नसार्ने निर्णय गर्छौं,’ उनले भने ।

नेपाल सरकारले मुलुकमा कोरोना फैलिन नदिन र आबश्यक परे लकडाउन गर्न सक्ने निर्णय लिन स्थानीय पालिकाहरुलाई अधिकार दिएको छ।  तर त्यो अधिकार पाएको पोखरा महानगरपालिकाले अब त्यो अधिकार प्याब्सन, एनप्याब्सनको आग्रहमा विद्यालयहरु स्वयम्लाई दिएको छ।  आफ्नो बिद्यालयमा कोरोना संक्रमण फैलिएको भेटिएमा बिद्यालयले महानगर शिक्षा समितिको परामर्शमा उचित निर्णय गर्न सक्ने भएको छ।

प्रतिक्रिया