बजार नपाएको भन्दै किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै गोलभेडा फालेर बिरोध गरे

बजार नपाएको भन्दै किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै गोलभेडा फालेर बिरोध गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ फाल्गुन २०७७
  • 6.5K
    Shares

किसानहरुले नगरप्रमुख धिरज शर्मा बस्यालको कार्यकक्षमा टमाटर फाले

बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै गोलभेडा फालेर बिरोध गरेका छन्।  स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित गोलभेडा खुल्लेआम बिक्री हुने गरेको भन्दै उनीहरुले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध गरेका हुन्  ।

किसानहरुले नगरप्रमुख धिरज शर्मा बस्याललाई आफ्ना समस्या र माग समेटेर तयार पारिएको ज्ञापन पत्र बुझाउन खोजेका थिए । तर नगर प्रमुख बस्याल भने उपस्थित भएनन् । नगर प्रमुख ज्ञापनपत्र बुझ्न नआएको भन्दै किसानहरु थप आक्रोशित हुँदै नाराबाजी गरेका थिए ।

किसानहरुले नगर प्रमुख बस्यालको कार्यकक्षमा पनि गोलभेडा फाल्न खोज्दा नगर प्रहरीले रोक्ने प्रयत्न गरेको थियो । त्यसपछि वडा नं. १४ र ७ का किसानहरुले बिरोधका क्रममा दुईवटा गाडीमा ३० क्विण्टल टमाटर ल्याएर नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन् ।

किसानको भिडलाई नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले सम्बोधन गर्दै किसानहरु आन्दोलित हुने स्थिति सिर्जना हुनु दुःखद भएको भन्दै किसानहरुको मर्कामा आफू पनि सँगसँगै रहने बताएका थिए ।

विरोध कार्यक्रमलाई बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर इञ्चार्ज रुद्र प्रकाशलगायतले सम्बोधन गरेका थिए । उनीहरुले किसानहरुको उत्पादनको बजारीकरणका लागि जिम्मेवार बन्न नगरपालिकालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया