गोर्खा नगरपालिकाले खरीद गरेर दराजमा थन्काएर राखेको ड्रोन खरीदमा अनियमितता देखिएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे, नक्साकंन तथा अनुगमन गर्ने भन्दै ड्रोन खरिद निर्णय गरेको थियो।

नगरपालिकाले ड्रोनसहितका सामान लागत स्टमेटविपरीत काठमाडौंस्थित ओलीज स्टोर प्रालिसँग १४ लाख ९५ हजार रुपैयाँमा खरीद गरिएको थियो। नगरपालिकाले गरेको निर्णय बमोजिम पेन्थम फोर आरटीके ड्रोनको कम्बो प्याक किन्न ९ लाख ७५ हजार रुपैयाँको स्टमेट तयार गरेको थियो । त्यस ड्रोनसहित कम्बो प्याकमा ड्रोन, गगल्स र मोबाइल स्टेशन समावेश गरिएको थियो। आफैँले तयार गरेको स्टमेट मिचेर खरिद गरेपनि नगरपालिकाले ड्रोन उपयोग भने गरेको छैन।
यसरी, बोलपत्रमा उल्लेख गरिएभन्दा ५ लाख २० हजार रुपैयाँ बढी तिरेर सामान किनेको नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी यतिखेर तैँ चुप-मै चुप छन्।
ओलीज स्टोरले गोरखा नगरपालिकामा बुझाएको बिलमा चार/पाँचवटा क्याटेगोरी रहेको भनेपनि त्यसमा तीनवटा मात्रै क्याटेगोरी उल्लेख छ। तीन क्याटेगोरीमध्ये पनि प्यान्थम फोर आरटीके कम्बो प्याकको मूल्य १३ लाख २३ हजार रुपैयाँ लेखिएको छ।
कम्बो प्याकमा नै आउने गगल्स र मोबाइल स्टेशन पनि क्याटेगोरीमा छन्, तर त्यसको मूल्य शून्य रुपैयाँ राखिएको छ।
सार्वजनिक खरिद नियमावलीमा कुनै पनि सार्वजनिक संस्थाले स्वीकृत भएको लागत स्टमेटभन्दा बढी रकममा सामान खरिद गरी बिल भुक्तानी गर्न नपाउने उल्लेख छ। तर, गोरखा नगरपालिकाले नौ लाख ७५ हजार रुपैयाँ लागत स्टमेट गरेर १४ लाख ९५ हजार रुपैयाँमा ड्रोन खरिद गरेको हो। समाचारस्रोत थाहखाबर डट कम