छिमेकी राष्ट्र भारतले बाटो विस्तार गर्ने क्रममा दार्चुलाको माल्पा भन्ने ठाउँमा महाकाली नदी थुनिएको छ ।
बाटो विस्तार गर्ने क्रममा ठूलो मात्रामा ढुंगा, बालुवा तथा गिट्टी नदीमा खस्दा दार्चुलाको माल्पास्थित महाकाली नदी थुनिएको हो ।
भारतीय पक्षले त्यहाँ पहरो भत्काउन ब्लाष्ट गरेको हुनसक्ने आशंका गरिएको छ । नेपालपट्टि दार्चुलाको ब्यास गाउँपालिका–२ नम्बर वडामा उक्त पहिरो खसेको हो । उक्त पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको बताइएको छ ।
यसरी महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै नदी आसपासका क्षेत्रमा सतर्कता बढाउन अनुरोध गरेको छ ।
प्रशासनले साँझ सूचना जारी गर्दै भनेको छ, ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको जानकारी हुन आएकोले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको लागि सूचना प्रकाशित गरिएको छ ।’
त्यस्तै, सम्भावित क्षतिलाई मध्यनजर गरी कञ्चनपुर प्रशासनले विपद् व्यवस्थापनको टिमलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
यसैबीच दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ‘भारतले निर्माण गरिरहेको कैलाश मानसरोवर मार्गको चट्टान महाकालीमा खसेर पानी जम्मा भएको र त्यो पानी खोल्ने काम भैरहेको जानकारी दिए। पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुंगा माटो हटाउने कार्य गरिरहेको प्रजिअ पोखरेलले बताए । उनका अनुसार हिउँदयाम भएकोले नदीमा पानीको सतह कम हुँदा यस्तो कार्य गरिरहेको हुन सक्छ । उनले दुम्लिङ प्रहरी चौकीबाट उक्त ठाउँमा प्रहरी गएकोले विस्तृत जानकारी पछि थाह हुने बताए ।