पोखरामा कार्यरत सुरक्षा निकायका घुमुवाहरुको पिकनिकमा फाइट, सहभागी सबै तितरबितर

पोखरामा कार्यरत सुरक्षा निकायका घुमुवाहरुको पिकनिकमा फाइट, सहभागी सबै तितरबितर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ पुष २०७७
  • 196.7K
    Shares

घुमुवा प्रहरी

सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरेर हो-हल्ला गरे प्रहरीले पक्राउ गरेर कारवाही गर्छ। तर त्यही कारवाही गर्ने प्रहरीहरु नै मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा हो-हल्ला गरेमा प्रहरीले के कारवाही गर्छ होला ? कारवाही गर्नु त पर्ने हो। तर गण्डकी प्रदेशको राजधानी पोखरामा त्यस्तो प्रहरीहरुको समुहलाई प्रहरीले कानूनी कारबाही गरेन।

प्राप्त समाचार अनुसार, गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका प्रहरी कार्यालयहरुमा कार्यरत घुमुवा प्रहरीहरुको पोखरा महानगरपालिका अन्तर्गत पर्ने लेखनाथको खराने फाँटमा गत शनिबार पिकनिक कार्यक्रम आयोजना गरिएको थियो। त्यो पिकनिक केको अवसरमा आयोजना गरिएको थियो भन्ने बारेमा अझैसम्म खुल्न सकेको छैन।

पिकनिक कार्यक्रममा खानपान र नाचगान चलिरहेकै थियो। सबै मस्त थिए। तर जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत घुमुवा प्रहरी हवल्दार भरत भुजेल र वडा प्रहरी कार्यालय बगर पोखरामा कार्यरत प्रहरी हवल्दार जनक रावतबीच भनाभन भयो। बिबादले उग्र रुप लिंदै जाँदा ठुलो होहल्ला भएपछी स्थानीय बासिन्दाले पत्रकारहरुलाई बोलाए। त्यो खबर गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखसम्म पुग्यो।

आफ्नो मातहत रहने गरी गठन भएको प्रदेश स्तरको सुचना संयन्त्र अन्तरगतका घुमुवा प्रहरीहरु आपसमा झगडा गरेर स्थानिय जनताको शान्ति सुरक्षामा खलल पुर्याएको समाचार सार्वजनिक भए नराम्रो सन्देश जाने कुरा उल्लेख गर्दै प्रदेश प्रहरी प्रमुखले समाचार प्रकाशन तथा प्रशारण नगरिदिन अनुरोध गरे। उनको अनुरोध बमोजिम कहींकतै समाचार प्रकाशन तथा प्रशारण भएनन्। पत्रकारहरुले खिचेका फोटोहरु र भिडियोहरु डिलिट भए।

प्रदेश प्रहरी प्रमुखले पत्रकारहरुमाझ गरेको प्रतिबद्धता बमोजिम पिकनिकमा होहल्ला गर्ने घुमुवा प्रहरीहरुलाई कानूनी कारबाही हुने धेरैले आशा गरेका थिए। तर ती घुमुवा प्रहरीहरुलाई प्रदेश प्रहरी कार्यालयले आ-आफ्नो दरबन्दीमा फिर्ता पठाएको छ भने कास्की जिल्लाभित्रै दरबन्दी रहेका घुमुवा प्रहरीहरुलाई प्रदेश प्रहरी कार्यालय मातहतको सशस्त्र प्रहरी गण पार्दीमा पठाइएको समाचार सोतले जानकारी दिएको छ।

प्रहरीले काज फिर्ता गरेका तथा जिल्ला भित्र दरबन्दी रहेकालाइ गणमा पठाएकाहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रसनिद्वय बिजय थापा, कमल बस्याल, सुरज रिमाल, लगायत चार जना, जिल्ला प्रहरी कार्यालय कास्कीका घुमुवा प्रमुख असई बिशाल थापा, प्रहरी हवल्दार भरत भुजेल, रमेश नेपाली, एलिजा शर्मा र रामशरण तिवारी, वडा प्रहरी कार्यालय बैदामका कृष्ण प्रसाद ढकाल, हरेराम चौधरी र गुरुङ तथा डाँडाकोनाक प्रहरी चौकीका एक जना वडा प्रहरी कार्यालय बगरका जनक साउद लगायत दुई जना छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रबाबु रेग्मीले विभागको अनुमति नलिई पिकनिक आयोजना गरेको पाइएकाले २२ जना प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए। डिएसपी रेग्मीका अनुसार, उनीहरुविरुद्ध छानबिन प्रक्रिया त चलेको छ नै, कास्की जिल्ला बाहिर दरबन्दी रहेका १५ जनालाई आफ्नै दरबन्दीमा फिर्ता गरिएको छ भने कास्की जिल्लाभित्र दरबन्दी रहेका सात जना प्रहरी कर्मचारीहरुलाई पोखराको पार्दीस्थित प्रहरी गणमा पठाइएको छ।

त्यसो त घुमुवा प्रहरीको रुपमा पोखरामा रहेको भए पनि त्यस पिकनिकमा नपुगेका घुमुवा प्रहरीहरु भने बचेका छन्। त्यस पिकनिकमा संघीय प्रहरी इकाई कार्यालय गण्डकी तथा वडा प्रहरी कार्यालय राम्बजारका घुमुवा प्रहरीहरु सहभागी नभएको समाचारस्रोतले जानकारी दिएको छ।

प्राप्त अर्को एक जानकारीमा उक्त पिकनिकमा पोखरामै कर्यक्षेत्र रहेका नेपाली सेना र सशस्त्र प्रहरीका केही घुमुवाहरुको पनि सहभागिता रहेको थियो। उनीहरुलाई सम्बन्धित सुरक्षा निकायले के कस्तो कारवाही गर्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन।

स्मरण रहोस, जुवाखालबाट बरामद भएको रकम चोरी गरेको आरोपमा करीब एक वर्ष अघि जिल्ला प्रहरी कार्यालय कास्कीका घुमुवा प्रहरी प्रमुख असई सन्तोष सुबेदी लगायत तीन जना प्रहरीलाई कारबाहीमा परेका थिए। सिसिटिभी फुटेजमा बरामद रकम लुकाएको प्रस्ट देखिएपछि असई सन्तोष सुबेदीको ग्रेड रोक्का गरेर तनहुँ सरुवा गरिएको थियो भने प्रज भवनाथ लामिछाने लगायत दुई जनालाई सरुवा गरिएको थियो। तर उनीहरु अहिले पार्दीस्थित प्रहरी गणमा सरुवा भएर आएका छन् घुमुवाको रुपमा कार्यरत रहेको प्राप्त समाचारमा जनाइएको छ।

त्यस्तै ,बिप्लवको कार्यकर्ता खोज्न जाने क्रममा लेखनाथको अर्चलेमा एक बालिकालाई दुर्ब्यबहार गरेको आरोप लागेपछि वडा प्रहरी कार्यालय बैदामका घुमुवा असई अर्जुन रोक्कालाई घुमुवाबाट हटाएर गण्डकी प्रदेश प्रहरी कार्यालयम काजमा खटाइएको थियो। उनी अहिले प्रदेश प्रहरी मार्फत नै न्घुमुवाका रुपमा कार्यरत रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार