सामाजिक सेवाको पर्याय बनेको नेपाल रेडक्रस सोसाइटीको लागि केन्द्रिय गोदाम घरका लागि जग्गा किन्दा ठुलो आर्थिक चलखेल भएको भेटिएको छ। नेपाल रेडक्रसका सहकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा छानविन समितिले रेडक्रसका लागि जग्गा खरिद गर्दा ब्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ। सो छानबिन टोलीले अमिन लगेर जग्गाको नापजाँच गर्दा ६ आना ३ दाम कम भेटेको थियो।
छानबिन समितिले चिनियाँ रेडक्रसको सहयोगमा भक्तपुरको दुधपाटीमा केन्द्रीय गोदाम घर निर्माण गर्न खरिद गरिएको ५ रोपनी १३ आना ३ पैसा (९३ आना ३ पैसा) जग्गामा ठूलो आर्थिक हिनामिना भएको छानविनको निष्कर्ष निकालेको छ। पुर्व अध्यक्ष थापाले जग्गा दलालीमा संलग्न भक्तपुर नगरपालिका वडा नम्बर ४ निवासी राजेश देशेमरुसंग मिलेर आर्थिक चलखेल गरेको समितिले पत्ता लगाएको छ।
थापा नेतृत्वको कार्य समितिले ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रुपैयाामा उक्त जग्गा खरिद गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छानविनमा देशेमरुले जग्गा खोजि दिए वापत कमिसन मात्र एक करोड ९२ लाख रुपैयाँ लिएको बयान दिएका थिए ।
यसैबीच नेपाल रेडक्रस सोसाइटीले पूर्वअध्यक्ष संजीव थापाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी दर्ता गराएको छ । थापासँगै जग्गा दलालीमा संलग्न भक्तपुर नगरपालिका वडा नम्बर ४ निवासी राजेश देशेमरु विरुद्ध समेत उजुरी दर्ता गरेको छ ।
थापा नेतृत्वको कार्यसमिति भ्रष्टाचारमा संलग्न भएको देखिएपछि गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई बर्खास्त गर्दै डा. नेत्र तिमिल्सिनाको संयोजकत्वमा ३३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो । यो कार्य समितिले जग्गाको यथार्थ विवरण पत्ता लगाउन सहकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा छानविन समिति बनाएको थियो । समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अनुमति लिएर अमिन लगेर जग्गाको नापजाँच गरेको थियो । सो नापजांचमा सो छानबिन टोलीले अमिन लगेर जग्गाको नापजाँच गर्दा ६ आना ३ दाम कम भेटेको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत एक वर्ष अघि नै थापा बिरुद्ध सिआइबीमा ठगीको उजुरी दर्ता गरेको थियो । तर, सिआइबीले ठगी प्रमाणित नभएको भन्दै तामेलीमा राखेको थियो ।