बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत चिकित्सकले कोरोना जोखिम भत्ता नपाएको भन्दै अस्पतालमा आउन छाडेका छन् ।
गत साउनदेखि करारमा नियुक्त गरिएका चिकित्सकहरूले जोखिम भत्ता नपाएको भन्दै बुधबारदेखि अस्पतालमा आउन छाडेका हुन् । जसका कारण अस्पतालको सेवा प्रभावित भएको छ ।
जोखिम भत्ता नपाएको भन्दै सात जना चिकित्सकले अस्पताल प्रशासनलाई गत मंगलबार नै अल्टिमेटम दिँदै भत्ता उपलब्ध नभए काममा नफर्कने बताएका थिए । मंगलबार मात्र अल्टिमेटम दिएका उनीहरू बुधबारदेखि काममा नफर्किएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
उनले सात जना चिकित्सकहरू अस्पतालमा नआएकाले अहिले अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टापहरूबाट सेवा प्रभाह गरिएको उनले बताए । करार सेवाका चिकित्सक सेवामा नआएपछि अहिले कन्सल्टेन्टहरू प्रशान्त गुप्ता, सुदर्शन थापालगायतका चिकित्सक र नर्सिङ स्टाफहरूले आइसोलेसन र आइसीयूमा सेवा प्रदान गरेको उनले बताए ।
अल्टिमेटम आउन साथ अस्पताल प्रशासनले सामाजिक विकासमन्त्री सुर्दशन बराल, मन्त्रालयका सचिव महादेव पन्थसँग छलफल गरी तिहारलगत्तै भत्ता दिने सहमति भए पनि अल्टिमेटमकै अर्को दिन सेवामा नर्फकिनु चिकित्सकको मर्यादा र आचरण विपरीत भएको उनको भनाइ छ ।
चिकित्सकहरू सेवामा नफर्किए पनि होटलमा बसेर हडताल गरेको उनले बताए । ‘स्वास्थ्यमा संवेदनशील हुनुपर्ने चिकित्सकहरू नै गैरजिम्मेवारी र मर्यादा विपरीत हड्तालमा उत्रिदा जनतामा कस्तो सन्देश जान्छ ? हामीले सेवामा प्रवेश गर्दा के यहि सोचेका थियौँ,’ उनले भने, ‘नागरिकको स्वास्थ्य संवेदशीलता हामीले नबुजे कसले बुज्ने ?’
उनले चिकित्सा क्षेत्र कुनै उद्योग, व्यवसाय वा कलकारखना जस्तो मन लाग्दा जाने र मन नलाग्दा नजाने जस्तो सेवा नभएको भन्दै चिकित्सकहरूलाई जिम्मेवार बन्नसमेत आग्रह गरे ।
साभार शिलापत्र डट कम