काठमान्डौ, ७ कार्तिक २०८३ ।
बलिउड महानायक अमिताभ बच्चन र चर्चित पन्जाबी गायक दिलजित दोसाँझलाई लक्षित गर्दै ज्यान मार्ने धम्की आएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान बृहन्मुम्बई महानगरपालिका (BMC) की मेयर रितु तावडेलाई प्राप्त भएको इमेलमा उक्त धम्की दिइएको हो। आफूलाई ‘खालिस्तान नेसनल आर्मी (KNA)’ बताउने समूहले पठाएको उक्त इमेलमा उपमेयर संजय घाडीलाई पनि ट्याग गरिएको थियो।
इमेलमा अमिताभ बच्चनको जुहुस्थित बंगला ‘जलसा’ लाई अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला बम विस्फोट गराएर उडाउने चेतावनी दिइएको छ। त्यस्तै, नोभेम्बर २७ मा महालक्ष्मी रेसकोर्समा हुने दिलजित दोसाँझको कन्सर्टमा आत्मघाती हमला गर्ने धम्की समेत उल्लेख छ।
इमेलमा सन् १९८४ को ‘अपरेशन ब्लु स्टार’ को बदला लिन यो हमला गर्न लागिएको र अक्टोबर ३१ मा एक विद्यालयमा ग्रेनेड हमला गर्ने दाबी समेत गरिएको छ।
धम्कीपछि मुम्बई प्रहरी र सुरक्षा निकाय हाई अलर्टमा राखिएको छ। मेयरको कार्यालय र उल्लेखित स्थानहरूमा प्रहरीले खानतलासी गरे पनि कुनै शंकास्पद वस्तु फेला नपरेको मुम्बई प्रहरीका डीसीपी मनिष कलवानियाले बताएका छन्।
यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यो घटना अभिनेता टाइगर श्राफ सवार कारमा गोली प्रहार भएको पाँच दिनपछि आएको हो।