काठमाडौं, ६ कार्तिक २०८३ ।
मनाङस्थित गंगापूर्ण पश्चिम हिमाल आरोहणका क्रममा बेपत्ता रहेका भनिएका दुई जना जापानी पर्वतारोही आज मृत भेटिएका छन्।
सात हजार एकसय ४० मिटर अग्लो उक्त हिमाल आरोहणका क्रममा अक्टोबर १५ देखि सम्पर्कविहीन रहेका दुई जापानी आरोही शुक्रबार मृत भेटिएका हुन् । आरोहीहरूलाई स्थानीय लजिस्टिक उपलब्ध गराएको कस्मो एडभेन्चर कम्पनीका कुमार क्षेत्रीले उनीहरु मृत फेला परेको पुष्टि गरे । कुमार क्षेत्रीले दिएको जानकारी अनुसार, “उद्धार टोलीले आज बिहान करिब ६ हजार तीन सय मिटरको उचाइमा उनीहरुको शव देखेको थियो। “
प्राप्त विवरण अनुसार दुवै आरोहीले अहिलेसम्म आरोहण नभएको गंगापूर्ण वेस्टको पहिलो सफल आरोहणका लागि अल्पाइन शैलीमा प्रयास गरिरहेका थिए। अक्टोबर १५ मा सम्पर्क टुटेपछि उनीहरू अक्टोबर १८ मा बेसक्याम्पमा फर्कने योजना थियो, तर नफर्केपछि खोजी शुरु गरिएको थियो। खोजी टोलीले शुरुमा उनीहरूको क्याम्पिङ स्थल र त्यसको केही दिनपछि झोला र डोरीहरू फेला पारेको थियो।
उनीहरुको शब पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पुर्याइएको र पोस्टमार्टमपछि परिवारजनलाई हस्तान्तरण गरिने प्राप्त समाचारमा जनाइएको छ। यो घटनाबारे थप विवरण भने सार्वजनिक भएको छैन।
नेपालमा ४६२ वटा हिमाल आरोहणका लागि खुला छन्, जसमध्ये करिब १०० वटा शिखरमा अहिलेसम्म मानव पाइला पुगेको छैन र पछिल्लो समय लुकेका शिखरहरूमा पहिलो आरोहण गर्ने आरोहीहरूको संख्या बढ्दै गएको छ।
शरद ऋतुमा हिमालयका उच्च शिखरहरूमा मौसम चाँडै बिग्रने भएकाले यो घटनापछि पर्वतारोहण सुरक्षाबारे फेरि चिन्ता व्यक्त गरिएको छ। नेपालस्थित जापानी दूतावासले पनि घटनाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।