janasanchar ,दिपेन्द्र श्रेष्ठ, नारायण शर्मा
Spread the love

यही चैत २५ गते हुन गैरहेको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका दुई अध्यक्ष पदका उम्मेदवारसहित पांच जनाले आफ्नो उम्मेद्वारी फिर्त गरेका छन्। निर्वाचन समितिले २ जनाको उम्मेदवारी बदर गरिदिएको छ ।

अध्यक्ष पदमा उम्मेद्वारी दिएका आरजु बिष्ट ‘सल्यानी र लोकप्रसाद बन्जाराले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन्।  उम्मेद्वारी फिर्ता लिएका सल्यानी सत्तापक्षीय गठबन्धन प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समुहको घटक सदस्य प्रेस मंचका तर्फबाट स्वातन्त्र उम्मेदवारका रुपम उम्मेद्वारी दर्ता गराएका थिए।  बिष्टको उम्मेदवारीले सो गठबन्धनका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिमा अध्यक्ष पदको बलियो उम्मेदवार मानिएका दिपेन्द्र श्रेष्ठलाई धक्का पुग्ने आंकलन धेरैले गरेका थिए।

श्रेष्ठ र सल्यानी झन्डै दुई दशक लामो समय पोखराको अन्नपूर्ण एफएममा संगै काम गरेका थिए।  श्रेष्ठ हाल नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष हुन् । बिष्ट पनि पोखराका पत्रकारहरुबीच चर्चित नाम हो।  उनी साहित्य क्षेत्रमा समेत अघि छन्।  उनले जित्ने सम्भावना भन्दा पनि श्रेष्ठलाई हराउने गरी भोट काटिदिने धेरैले अड्कल गरेका थिए।  यस्तो अवस्थामा दुईबीच मित्रतापूर्ण ब्यबहार हुनसक्ने सबैले अनुमान गरिरहेका बेला श्रेष्ठकै बिरुद्ध उनकै गठबन्धनका सदस्य घटक प्रेस मंचका तर्फबाट बिष्टले अध्यक्ष पदमा उम्मेद्वारी दिनु अर्थपूर्ण रुपमा हेरिएको थियो।

गठबन्धनको नेतृत्व गरिरहेको प्रेस चौतारीले अन्य साना घटक संगठनलाई बेवास्ता गरेको भन्दै बिष्टले दिपेन्द्र श्रेष्ठबिरुद्ध उम्मेद्वारी दर्ता गराएका थिए।  तर बिहिबार राती प्रेस चौतारी र प्रेस मंचका बीच वार्ता हुँदा ‘मंचका तर्फबाट गण्डकी प्रदेश अध्यक्ष पदबाट उम्मेद्वारी फिर्ता लिने र तनहुँको नेतृत्वमा मंचका उम्मेदवारलाई चौतारीले सहयोग गर्ने’ सहमति भएपछी बिष्टले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएको समाचारस्रोतको दाबी छ।

यता  नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाल सम्मिलित गथाबन्धनामा भागबण्डा नमिल्दा ठुलो किचलो कायमै छ। गठबन्धनको नेतृत्व गरिरहेको नेपाल प्रेस युनियनले अन्य घटक संगठनलाई सानो संगठन भन्दै अवहेलना गरेको महशुश अन्य संगठनले गरेका छन्।  त्यसैको प्रतिफल गठ्बन्धनका आधिकारिक उम्मेदवार नारायण शर्माका बिरुद्ध सोही गठबन्धनको घटक प्रेस सेन्टरका नेता लोकप्रसाद बन्जाराले अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए।

प्रेस सेन्टरले गण्डकी प्रदेश समिति वा कास्की जिल्ला समितिको अध्यक्ष पदमध्ये एक आफ्नो संगठनले पाउनुपर्ने दाबी गरिरहेको छ।  तर युनियनले सेन्टरको अध्यक्ष पदमा पुग्ने हैसियतमा नै नरहेको भन्दै सेन्टरलाई कम आंकलन गरिरहेको छ।  गण्डकी प्रदेश वा कास्की जिल्ला समिति मध्ये एकको अध्यक्ष पद आफ्नो संगठनले पाउनुपर्ने जिकिर गरिरहेको सेन्टरका तर्फबाट बन्जाराले गण्डकी प्रदेश समितिमा अध्यक्ष पदमा उम्मेद्वारी दिएर काठमाण्डौ हानिएका थिए।  बन्जाराले “आबश्यकता अनुसार निर्णय गर्न सक्ने ” अधिकारसहित हस्ताक्षर गरेर एक पत्र पार्टीलाई बुझाएर काठमाण्डौ हान्निएको बताइएको छ।

प्रेस सेन्टर र युनियनबीच पटक-पटक वार्ता हुँदा पनि युनियनका तर्फबाट लचकताको कुनै संकेत नपाएपछि अध्यक्ष पदका उम्मेदवार लोकप्रसाद बन्जाराको तर्फबाट अर्जुन काफ्लेले उम्मेद्वारी फिर्ता लिने अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएको पत्र निर्वाचन समितिलाई बुझाएका थिए।

अग्रगामी भनिएको यस गथाबन्धन्मा भने किचलो मच्चिएको छ।  युनियनले कास्कीको चुनाबमा “बरु अरु पद छाड्ने तर अध्यक्ष पद कुनै पनि हालतमा नछाड्ने’ अड्डी लिइरहेको छ।  उसले यदि अध्यक्ष पद छाड्ने पर्ने भए सेन्टरसंगको गठबन्धन नै तोड्ने मनस्थितिमा पुगेको छ।  त्यस्तो अवस्थामा नेपाल पत्रकार महासंघ कास्कीको वर्तमान सचिव रामप्रसाद तिमिल्सिनालाई अध्यक्ष पदको उम्मेवार बनाउने मनस्थिति बनाएर प्रेस सेन्टरले तयारी गरेको प्राप्त समाचारमा जनाएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका लागि उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका प्रेस सेन्टरका केन्द्रिय सदस्य एबम गण्डकी प्रदेश सहइन्चार्ज माधव पनेरू तथा, खुला सचिवका प्रत्यासी ऋषिकान्त पौडेल र खुला सदस्यमा उम्मेद्वारी दिएका थम्मन थापाले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाल प्रेस युनियनका तर्फबाट लचकताको कुनै गुञ्जायस नपाएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य तथा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले ‘पछि उचित स्थान दिने ‘मौखिक बचन दिएकाकारण पनेरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएको समाचारस्रोतको दाबी छ।

उता नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य समेत रहेका ऋषिकान्त पौडेलले संगठनको उच्च दबाबमा आफुले खुला सचिवका लागि दिएको उम्मेद्वारी फिर्ता लिएका छन्।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका लागि कोशाध्यक्ष पदमा उम्मेद्वारी दिएका पोखराका  सागरराज तिमिल्नाले आफ्नो उम्मेस्वारीलाई निरन्तरता दिएका छन्।  उनले निर्धारित समयमा आफ्नो उम्मेद्वारी फिर्ता लिएनन। उनले “पत्रकारले पत्रकारिता गरौँ” भन्ने नारालाई अगाडी सारेका छन्।  पोखरामा पत्रकारिताको नाममा मौलाउदै गएको ठेकेदारी प्रथा, दलालीतंत्र, लुटलाई इंगित गर्दै उनले आफ्नो नारा अघि सारेको बताइएको छ। पोखरामा क्रियाशील पत्रकार तिमिल्सिना गठबन्धनबाट कोशाध्यक्ष पदमा लडिरहेका गोर्खाका राजेन्द्र न्यौपाने र नवलपुरका  शालिकराम कोइरालाका लागि फलामको च्युरा हुनेछन। गण्डकी प्रदेशमा नै अधिक मतदाता तीनसय १२ रहेको कास्की जिल्लाका बासिन्दा पत्रकार तिमिल्सिना उनीहरुको लागि चुनौतिपूर्ण हुने बताइञ्छ। बिगतमा केन्द्रीय पार्षदका लागि भए पनि गठबन्धनको मुख ताक्नु अवस्था वर्तमानमा नाराहेकाकारण धेरैले आफ्नो मत स्वतन्त्र रुपमा आफुलाई चाहेको उम्मेदवारलाई दिन सक्ने भएकाले गठबन्धनको औचित्य नै नरहेको टिप्पणी पनि पत्रकारहरुमाझ रहेको छ।

त्यति मात्र हैन, पोखराबाट संचालन भैरहेको डनन्युज डट कमका सम्पादक राजेन्द्र अधिकारीले सामाजिक संजालमार्फत एक खुल्लापत्र लेख्दै नेपाल पत्रकार महासंघको केन्द्रीय सचिब पदमा उम्मेद्वारी दिएका रामकृष्ण ज्ञवाली र केन्द्रीय सदस्य पदका उम्मेदवार त्रिभुवन पौडेललाई आफ्नो सम्पत्तिको स्रोत खुलाउन चुनौती दिएका छन्।  उनले ज्ञवाली र पौडेल बिरुद्ध मुद्दा हाल्नेलाई मुद्दा लड्ने खर्च आफुले व्यहोर्ने समेत बचन दिएका छन्।

पत्रकार अधिकारीले लेखेको खुल्लापत्रले पोखराको पत्रकारिता जगतमा आगो बलेको छ।  धेरैले उनको कुरालाई मन पराएका छन्।  तयति मात्र हैन अधिकांशले पत्रकारको सम्पति छानबिन हुनुपर्ने कुरामा समर्थन पनि जनाएका छन्।  नेपाली पत्रकारहरुको छाता संगठनको चुनाबको मुखमा उठेको यस एजेन्डाले कत्तिको प्राथमिकता पाउँछ ? त्यो भने हेर्न बाँकी छ।

पत्रकारद्वय ज्ञवाली र पौडेललाई खुला पत्र !!

‘दम छ ? हाम्रो आम्दानीको स्रोत यो हो ? यसरी कमाएको हुँ मैले भनेर देखाउने ?’

https://donnews.com/archives/6319

 

पत्रकारहरुको सम्पत्तिको स्रोतको खोजीको मुद्दाले आगो बलिरहदा भने पोखरामा एउटा अनौठो गठबन्धन बनेको पोखरेली पत्रकारहरुबीच चर्चा चलिरहेको छ।  त्यस अनौठो गठबन्धनले “जसरी नि चुनाब जित्ने पर्छ” भन्ने अभियान नै चलाएको बताइएको छ। त्यस अनौठो गठबन्धनमा नेपाल पत्रकार महासंघको केन्द्रिय सचिब पदका उम्मेदवार रामकृष्ण ज्ञवाली, केन्द्रिय सदस्य पदका उम्मेदवार त्रिभुवन पौडेल र गण्डकी प्रदेश अध्यक्ष दिपेन्द्र श्रेष्ठ रहेको पत्रकार माझ चर्चाको बिषय बनेको छ।

पत्रकार ज्ञवाली र श्रेष्ठ सत्तारुढ समर्थित गठबन्धनमा छन् भने पौडेल अग्रगामी भनिएको संयुक्त गथाबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्।  यस गठबन्धनले आफुलाई छेकबार लगाउने गठबन्धनको बार पनि नाघेर एकापसलाई भोट हाल्ने पत्रकारहरुबीच खासखुस चलिरहेको छ।

अब यही चैत २५ गते हुने चुनाबमा नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिमा अध्यक्ष पदका लागि सत्तापक्षीय गठबन्धन प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समुहको तर्फबाट प्रेस चौतारीका दिपेन्द्र श्रेष्ठ र अग्रगामी भनिएको संयुक्त गठबन्धनको तर्फबाट नेपाल प्रेस युनियनका नारायण शर्माले चुनाब लड्नेछन।

उपाध्यक्ष खुलामा इन्द्रप्रसाद पौडेल र दीपक भट्टराई, उपाध्यक्ष महिलामा शान्ति गुरूङ र सोनी शर्मा, महासचिवमा गोविन्द सुवेदी र दिल शिरीषबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिव खुलातर्फ प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जरा उम्मेद्वार छन् । सचिव समावेशीतर्फ रुद्र श्रीषमगर र सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिना चुनावी मैदानमा छन् ।

सदस्य खुलामा कृष्ण कँडेल, सुनिल पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणी बराल, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार र सूर्य बाँस्तोला उम्मेद्वार छन् । यीमध्ये खुला सदस्य ५ जना चुनिने छन् ।

महिला सदस्यमा कविता श्रेष्ठ, रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनी गुरूङ, स्मीता अधिकारी चुनावी मैदानमा छन् । महिला सदस्यमा ५ जनामध्ये ३ जना निर्वाचित हुने छन् ।

दलित सदस्यमा रबिना बोहरा र सानेबहादुर नेपाली (कोइराला) मध्ये १ जना चुनिने छन् । सदस्य मधेसीतर्फ भने कुनै उम्मेदवारी परेको छैन । सदस्य अल्पसंख्यकतर्फ पदम छन्त्याल र श्रीकान्त सापकोटामध्ये १ जना चुनिने छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 378 Viewed

प्रतिक्रिया दिनुहोस्