ट्यांकरबाट  पेट्रोलियम पदार्थ चोरी
Spread the love

नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने कार्यमा संलग्न एकहजार आठ सय वटा ट्यांकरहरु मध्ये एकहजार तीन सय वटा ट्यांकरबाट  पेट्रोलियम पदार्थ चोरीमा संलग्न रहेको पाइएको छ । ती ट्यांकर भारतदेखि नेपालका केन्द्रीय र प्रादेशिक डिपोसम्म इन्धन ढुवानी गर्दा अपचलनमा संलग्न भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए।

कार्यकारी निर्देशक पौडेलका अनुसार, ती ट्यांकरले फल्स च्याम्बर बनाएर तेल चोर्ने, सर्भिस ट्यांकमा पाइप जडान गरेर तेल झिक्ने, मिसावट गर्ने लगायतका अपचलन गरेका थिए । ती सबै ट्यांकरलाई कारबाही गरेको दाबी पनि उनले गरे ।

निगमले पेट्रोलियम चोरी रोक्न भन्दै करोडौं खर्च गरेर मेकानिकल लकिङ प्रणाली अपनाएको छ । यही प्रणाली तोडेरै चालकहरुले धमाधम तेल चोरेको निगमकै भनाइ छ ।

निगमका इन्जिनियर तथा थानकोट डिपो प्रमुख प्रदीपकुमार यादव अपचलनमा मुछिएका ढुवानी ट्रक र ट्यांकर चालकहरुले कुनै न कुनै रुपमा मेकानिकल लकिङ तोडेको ‘हुन सक्ने’ बताउँछन् । ‘मेकानिकल लकिङ सुरु भएको दुई महिनासम्म त चोरी ठप्पै भएको थियो’, उनी भन्छन्, ‘तर, त्यसपछि यो प्रणालीबाट चोर्न भारतमा सिकेजस्तो देखिन्छ ।’

अब मेकानिकल लकिङ प्रणाली विस्थापित गर्न जिपीआरएस ट्र्याकिङसहितको नयाँ प्रविधि अपनाउन निगमले काम गरिरहेको यादवले बताए ।

मंसिरदेखि माघ अन्तिसम्म ट्यांकरहरुले तीन किसिमले चोरी गरेको पाइएको निगमका अधिकारीहरु बताउँछन् । निगमका प्रवक्ता विनितमणि उपाध्याय “फल्स च्याम्बर बनाएर ट्यांकरभित्रै इन्धन लुकाउने, पेट्रोल झिकेर मट्टीतेल मिसाउने र ठूलो परिमाणको चोरी नदेखिनेगरी थोरै-थोरै झिक्ने गरेको पाइएको ” बताउछन  ।

पेट्रोलियम अपचलन गर्ने पाँच जना चालक तथा सहचालकलाई कालोबजारी मुद्दा चलाएको निगमको दाबी छ । यीमध्ये दुई जना धरौटीमा छुटेका छन् । अन्य दर्जनौं ढुवानीकर्तालाई जरिवानासहित दुई सातासम्म प्रतिबन्ध लगाएको निगमका प्रवक्ता उपाध्याय बताउँछन् ।

स्रोत onlinekhabar.com 

 

अन्तिम पटक अध्यावधिक गरिएको 174 Viewed

प्रतिक्रिया दिनुहोस्