भारतीय सीमा सुरक्षाबलद्वारा नेपालीभुमी कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मी र स्थानिय बासिन्दालाई प्रवेश गर्नमा रोक

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार ३१, बुधबार) १३:२९

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि आक्रोशित बनेको भारतीय पक्षले स्थानीयवासीलाई दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रसम्म पनि जान रोक लगाएको छ ।

विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म पनि अहिले भारतीय सुरक्षाकर्मीले जान नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । माथिल्लो कौवा क्षेत्रसम्म जान पनि स्थानीयवासी डराउने गरेका छन् ।

भारतले कालापानीभन्दा वरको क्षेत्रमा समेत सुरक्षा तैनाथी बढाएको छ । भारतले पहिलेभन्दा झण्डै एक किलोमिटर तलसम्म छेकबार लगाएको छ । कालापानीसम्म नेपाली सुरक्षाकर्मी समेत जान पाएका छैनन् ।

महाकाली नदीको मुहान हेर्न गएका व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाइ भारतीय सुरक्षाकर्मीले रोकेका छन्।  काली मन्दिरसम्म जाने नेपाली सुरक्षाकर्मीको प्रयासलाई पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी ) ले रोक्ने गरेको छ ।

चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ । यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्याइएको छ ।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन् । गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ । तर कुटी देखिँदैन ।पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन ।

भारतीय सुरक्षाकर्मीले माथिल्लो कौवासम्म आफ्नो नियन्त्रणमा राख्न थालेपछि स्थानीयवासीले नेपालको सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्न पटक–पटक माग गर्दै आएका छन् । “सशस्त्र प्रहरी गागाभन्दा पनि कौवा क्षेत्रमा उपयुक्त हुन्छ भनेर पटक–पटक आग्रह गर्दै आएका छौँ”, व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने “तर सशस्त्र प्रहरी गागामै बस्यो । सशस्त्र प्रहरीका लागि कौवा क्षेत्र उपयुक्त हुन्छ ।

भारतको गुञ्जीमा तीनवटै सुरक्षा निकायको उपस्थिति छ । तर हाम्रो भने झण्डै १० किलोमिटर तल गागामा बसेर हुँदैन ।” सशस्त्र प्रहरीले कौवा क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी गरेको छ । सीमाक्षेत्रको निगरानीका लागि व्यासको कौवा क्षेत्र र तिङ्करमा बिओपी स्थापना गर्ने तथा छाङ्गरुमा गुल्म राख्ने तयारी गरिएको छ ।


(२०७७ असार ३१, बुधबार) १३:२९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना