छोरीलाई खरीदार बनाउन उत्तरपुस्तिका सच्याउने लोक सेवा आयोगका अधिकृत शाहीबिरुद्ध कार्वाहे प्रक्रिया शुरु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार २९, सोमबार) १०:२२

लोक सेवा आयोगले लिने लिखित परिक्षामा आफ्नी छोरीको उत्तरपुस्तिकामा उत्तर सच्याएर उत्तीर्ण गर्न खोज्ने आयोगका एक अधिकृतलाई आयोगले कारवाही प्रक्रिया शुरु गरेको छ।

लोक सेवा आयोगले सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीलाई कारवाही प्रक्रिया शुरु गरेको हो।  छानबिनका क्रममा अधिकृत शाही दोषी देखिएपछि उनलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । रोल नं. ३२९८ नम्बरको उनकी छोरीको उत्तर पुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।

लोक सेवा आयोगस्रोतले दिएको जानकारी अनुसार,  अधिकृत शाहीले २०७६ साल जेठ ११ गते  नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको छ ।

अधिकृत शाहीले (अब्जेक्टिभ) वस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए । उनकी छोरीले त्यसै गरिन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याए ।

नतिजा प्रकाशन हुँदा उनकी छोरीको वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिल्यो । अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम एक नम्बरमा थियो । उनको प्राप्ताङ्क अस्वाभाविक लागेर सचिव आनन्दराज ढकालले पुनः छानबिन गर्न निर्देशन दिए । छानबिन गर्दा बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेपछि सो उत्तर पुस्तिकलाई विधि विज्ञान प्रयोगशालाले परिक्षण गरी हेर्दा उत्तरपुस्तिका सच्याएको प्रमाणित भएको थियो ।

स्रोतका अनुसार अधिकृत शाहीले उत्तीर्ण परीक्षार्थीहरुको सूचीमा आफ्नी छोरीको नाम एक नम्बरमा राखेर अन्तिम नतिजा प्रकाशनको निर्णयको प्रस्ताव सचिव ढकालसमक्ष लगेका थिए । तर, ढकालले त्यसमा हस्ताक्षर गर्न मानेनन् । अधिकृत शाहीले भने तत्कालै निर्णय गरेर नतिजा सार्वजनिक गर्न जोडबल गरे । तर नतिजा रोकेर कानुन महाशाखाका प्रमुख धर्मराज कुइँकेलको नेतृत्वमा बनेको छानविन समितिले अधिकृत शाहीले अनियमितता गरेको निष्कर्ष निकालेको छ ।

आफ्नो परिवारको कुनै सदस्यले लोक सेवाको परीक्षा दिँदै छ भने आयोगको कर्मचारी परीक्षा सन्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा तयारी लगायतका कुनै पनि गतिविधमा संलग्न नहुने प्रचलन छ । परीक्षा सुरु हुनुअघि नै आयोगका कर्मचारीले आफ्नो परिवारको सदस्य परीक्षामा सहभागी हुन लागेको पूर्वजानकारी लिखितरूपमा दिने र बाँकी प्रक्रियाबाट आफैं अलग हुने प्रचलन छ ।

सोहीअनुसार अधिकृत शाहीले आफ्नी छोरीले वायु सेवा निगमको परीक्षा दिन लागेको पूर्वजानकारी दिएका थिए । तर पनि उनी उक्त पदको उत्तरपुस्तिका परीक्षण, नतिजा तयारीलगायतका काममा संलग्न भइरहेको खुलेको छ ।

अनियमितता गरेको खुलेपछि लोक सेवा आयोगले शाहीसँग सुरुमा स्पष्टीकरण सोधेको थियो । उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही गरेको हो ।


(२०७७ असार २९, सोमबार) १०:२२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना